आगोबाट गम्भीर घाइते भएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का बालक प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार प्रिन्स र उनकी आमा ३० वर्षीया गंगा विकलाई ३० वर्षीय बाबु भानुभक्त विकले आगो लगाएका थिए।
आगोबाट गम्भीर घाइते भएका आमा-छोरालाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारका क्रममा बालक प्रिन्सको गए राति करिब १ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नेव बहादुर मल्लले कोहलपुर टुडेलाई जानकारी दिए ।
गम्भीर घाइते गंगाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र ढाडमा आगोले पोलेको छ।
आइतबार साँझ करिब ७ बजेतिर भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए। घरायसी विवादका कारण श्रीमती र छोरालाई उनले आगो लगाएको अनुमान छ। घरमा भानुभक्तकी दिदीलगायत पाहुना आएका थिए। उनीहरूले प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको थियो। श्रीमती गंगामाथि भानुभक्तले पाँच लाख रूपैयाँको हिसाव देखाउन भनेपछि विवाद भएको थियो।
घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ। भारततर्फ प्रवेश गर्ने प्रयासमा रहेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिए। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्