प्रहरीले गृहमन्त्रीलाई टेर्न छाडेको हो?

काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्।

गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले विज्ञप्ति निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

शनिबार प्रतिनिधिसभा बैठकको सुरुवातमै बोल्दै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो विज्ञप्ति निकाल्दै जाने हो भने यसले मुलुकलाई कुन अवस्थामा पुर्‍याउने हो? प्रश्नसमेत गरे।

उनले भने,‘ भर्खरै गृह मन्त्रालयको एउटा पत्र सार्वजनिक भएको सूचना आयो। नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकाल्दै खोज्दै जाने परम्पराको सुरुवात भएको छ। यो गृह मन्त्रालयको पदभार ग्रहण गर्नुभएका धेरै मन्त्रीहरु आज यो संसदमा हुनुहुन्छ। गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्ति अपराधी खोज्ने परिपाटीको विकास भयो भने मुलुक कहाँ जाने हो?’

उनले के गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो भन्दै तत्काल त्यसको जवाफसमेत माग गरे। ‘गृहमन्त्री बालापनको, केटाकेटीपनको प्रर्दशन त्यहाँ गर्नु भएन। के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो? मौखिक रुपमा सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सिर्जना भएको हो? के अझै पनि जनतालाई फेरि ढाँट्नका लागि यो सूचना प्रकाशित गरिएको हो?,’ उनले थपे।

सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानबिनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरे। उनले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँट्ने, छल्ने काम नगर्न पनि सचेत गराए।