देश कै पहिलो नगरको रुपमा डिजिटल बाँसगढीको उद्घाटन

रावन विश्वकर्मा, बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिकालाई डिजिटल बाँसगढीको रुपमा उद्घाटन गरिएको छ । डिजिटल नेपालको स्वीकृत कार्यढाचा अनुसार बाँसगढी नगर सरकारले देश कै पहिलो नगरको रुपमा डिजिटल बाँसगढीको उद्घाटन गरिएको हो ।

सुशासन, विकास र समृद्धिको दुरदृष्टि सहित बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले शुक्रबार एक कार्यक्रमका बिच डिजिटल बाँसगढीको उद्घाटन गरे । नगरको आर्थिक रुपान्तरण र समृद्धिमा सुचना प्रविधिको माध्यमबाट सघाउन नगर सरकारले “डिजिटल बाँसगढी” कार्यढाँचा कार्यान्वयमा ल्याएको नगर प्रमुख खड्काले बताए।

समय सापेक्ष सुचना प्रविधिको प्रयोग मार्फत कार्यालयका विभिन्न सेवा क्षेत्र र निकायमा कार्यान्वयन गर्न कार्यपालिका बैठकको निर्णय अनुसार डिजिटल बाँसगढीको उद्घाटन गरिएको हो ।

नगर प्रमुख खडकाले सुचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत प्राप्त हुने अन्य लाभका अतिरिक्त डिजिटल प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभुत थप परदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनका लागि आधार तय हुने अपेक्षा गरिएको बताए ।

नगरले घटना दर्ता प्रणाली, सामाजिक सुरक्षा प्रर्णाली, प्रतिशतमा आधारित राजस्व प्रणाली, वडा कार्यालय मार्फत प्रदान गरिने ईलेक्ट्रोनिक्स नम्बर सहितको डिजिटल सिफारिस प्रणाली पुर्ण रुपमा कार्यान्वय गरि सकिएको र डिजिटल बाँसगढीको कार्यढाँचा अनुसार सबै सुवा एकै ठाँउबाट गर्न सकिने हुदा देश कै नमुनाको रुपमा रहेको उनको भनाई छ ।

डिजिटल बाँसगढीको कार्यढाँचा अनुसार नगरपालिका, विषयगत शाखा, उपशाखा, वडा कार्यालय र सेवा ग्राहीले समेत एकै स्थानबाट सेवा लिने र दिने काम हुने बाँसगढी नगरपालिकाका सुचना प्रविधि शाखा प्रमुख क्षितिज पौडेलले बताए ।

हाललाई नेपाल सरकार सुचना तथा प्रविधि मन्त्रालय, सुचना तथा प्रविधि विभागबाट सरकारी डोमेन लिई तत्काललाई निजी सर्भरमा रहने गरि डिजिटल बाँसगढीलाई निर्माण गरिएको पौडेलले जानकारी दिए ।

बाँसगढी नगरपालिकाका सबै सेवा एकै ठाँउबाट त्यो पनि घरबाट नै लिन मिल्ने पौडेलको भनाई छ । डिजिटल बाँसगढी उद्घाटन कार्यक्रममा नगर उपप्रमुख ईन्दिरा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।