राप्तीसोनारीमा पाँचौ गाउँपालिका स्तरीय अध्यक्ष कप आजदेखि सुरु




कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज देखि ‘पन्ध्रौ राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप-२०७९’ सुरु हुने भएको छ । राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा पालिका स्तरीय अध्यक्ष कप २०७९ हुन लागेको हो ।

प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक अर्जुन कुमार केसीका अनुसार १४ वटा मावि र ५ वटा आविका ८ सय २८ जना विद्यार्थीहरु सहभागि रहेको बताए । आज बिहान ७ बजेदेखि आवि तर्फको प्रतियोगिता सुरु भइसकेका छन् । प्रथामिक उपचारका लागि एम्बुलेन्स र सुरक्षा निकायका प्रमुखहरुसंग समेत समन्वय भइरहेको संयोजक केसीले बताए ।

प्रतियोगितामा अध्यक्ष कपका लागि ५१ सामुदायिक र ७ संस्थागत गरी ५८ वटा विद्यालयहरुले खेलकुद प्रतियोगितामा भाग लिएका छन् ।

यस्तै प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य ओम प्रकाश थापाले १ सय, २ सय, ३ सय, ४ सय, ८ सय, ४ गुणा १ सय,४ गुणा ४ सय, लङ्गजम्प, हाइजम्प, ट्रिप्लजम्प, ज्याभिलिन र सटपट खेलमा प्रतिपस्र्धा हुने बताए । प्रतियोगितामा उत्कृष्ट हुने बालबालिकाहरुलाई मेडल ट्रफि र प्रमाणपत्र रहेको छ ।

यस्तै पालिका अध्यक्ष तप्त पौडेलद्धारा ‘पन्ध्रौ राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप-२०७९’ को बिहान ११ बजे उद्घाटन हुनेछ । प्रतियोगिता माघ ६ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनको लागि ६ लाख भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रबार