बैजनाथको गाउँ सभा: शिक्षा (पहिलाे संशाेधन) ऐन पारित, व्यवसाय दर्ता र नगर प्रहरी ऐनमा छलफल

कृष्ण कुमार शाही, कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाको गाउँ सभाबाट शिक्षा (पहिलाे संशाेधन) ऐन पारित भएको छ । बिहिबार बसेको गाउँसभाले शिक्षा (पहिलाे संशाेधन) ऐन पारित गरेको छ ।  शिक्षा ऐनमा दुई वटा विषय संशोधन गरी पारित भएको पालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताए ।

पहिलो, गाउँ शिक्षा समितिको बैठकमा लगातार ३ बैंठकमा बिना जानकारी अनुपस्थित भएमा मनोनित सदस्यलाई हटाउने सकिनेछ र दोस्रो, पालिकाबाट अनुदानमा नियुक्त शिक्षक छनौट व्यवस्थालाई कार्यविधि बनाएर व्यवस्थित गरिनेछ भन्ने बुँदाहरु समेटेर पारित गरेको अध्यक्ष शाहीले बताए ।

यस्तै बैजनाथ गाउँपालिकाको पौष १३ गतेबाट सुरु भएको गाउँसभा बिहिबार पुन गाउँसभा बसेको थियो । पालिका अध्यक्ष शाहीका अनुसार अब व्यवसाय दर्ता ऐन र नगर प्रहरी ऐन टेबुल भएको छ ।

दुई ऐनलाई पारित गर्नका लागि पुनः माघ १३ गते गाउँसभा हुने अध्यक्ष शाहीले जानकारी दिए । गाउँसभामा सभाका उपाध्यक्ष निर्मला रोकाय एवं प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटा र वडा अध्यक्ष लगायत सदस्यहरुको समेत सहभागिता रहेको थियो ।