पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप भोलिदेखि सुरु

कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा भोलि (शुक्रबार) देखि ‘पन्ध्रौ राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप-२०७९’ सुरु हुने भएको छ । राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा पालिका स्तरीय अध्यक्ष कप २०७९ हुन लागेको हो । बिहिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक अर्जुन कुमार केसीले जानकारी दिए ।

प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक अर्जुन कुमार केसीका अनुसार १४ वटा मावि र ५ वटा आविका ८ सय २८ जना विद्यार्थीहरु सहभागि रहेको बताए । ‘टाढाबाट आउने विद्यालयहरुलाई आवाशको व्यवस्था गरिसकेका छौं,’ उनले भने, ‘आज बिहान ७ बजेदेखि आवि तर्फको प्रतियोगिता सुरु हुनेछन् ।’ प्रतियोगितामा प्रथामिक उपचारका लागि एम्बुलेन्स र सुरक्षा निकायका प्रमुखहरुसंग समेत समन्वय भइरहेको संयोजक केसीले बताए । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा अध्यक्ष कपका लागि ५१ सामुदायिक र ७ संस्थागत गरी ५८ वटा विद्यालयहरुले खेलकुद प्रतियोगितामा भाग लिएका छन् । आयोजकका अनुसार भोलि बिहान गाउँपालिका प्रमुख तप्त पौडेलद्धारा उद्घाटन गर्ने जानकारी दिएका छन् । यस्तै प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य ओम प्रकाश थापाले १ सय, २ सय, ३ सय, ४ सय, ८ सय, ४ गुणा १ सय,४ गुणा ४ सय, लङ्गजम्प, हाइजम्प, ट्रिप्लजम्प, ज्याभिलिन र सटपट खेलमा प्रतिस्पर्धा हुने बताए । प्रतियोगितामा उत्कृष्ट हुने बालबालिकाहरुलाई मेडल ट्रफि र प्रमाणपत्र रहेको छ ।

पौडेलद्धारा उद्घाटन हुने

राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्त पौडेलले खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने भएका छन् । बिहिबार पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक अर्जुन कुमार केसीले पालिका अध्यक्ष तप्त पौडेलद्धारा ‘पन्ध्रौ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप-२०७९’ को बिहान ११ बजे उद्घाटन हुने बताएका थिए ।

स्थानीय स्तरका खेलाडीहरुको मनोबल बृद्धि गराउने तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष केसीले बताए । प्रतियोगिता माघ ६ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनको लागि ६ लाख भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको छ ।