खजुरामा मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि सुरु (फाेटाे फिचर)

गम बहादुर डाँगर, खजुरा ।

बाँकेको खजुरा गाउँपालिका ४ मा पाँचौ अन्तर विद्यालय मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले उद्घाटन गरी पाँचौ अन्तर विद्यालय मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता खजुराको मिनि रङ्गशालामा सुरु भएको हो ।

उद्घाटनमा बाेल्दै अध्यक्ष विकले युवा तथा खेलकुदको पहिचान र नयाँ खेलाडी छनोट गर्ने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको बताए । ‘खजुरामा खेलकुदको विकास गर्न खेलकुद विकास समिति निर्माण गरेका छौं’ उनले भने, ‘यसबाट खेलकुदको भौतिक संरचना संरक्षण गर्न हुने अपेक्षा छ ।’ ‘खेलकुदका लागि मात्र पालिकाले गत वर्ष भन्दा दोब्बरले बजेट बृद्धि गरिएका छौं’ उनले थपे ।’ प्रतियोगितामा खजुरा गाउँपालिकामा रहेका ६६ विद्यालयहरुले भाग लिएको र  ५० जना विद्यार्थीहरुको समेत विमा गरिने विकले बताए ।

प्रतियोगितामा माध्यमिक तर्फ एथलेटिक्स र भलिवल कपड्डी गरी १५ विद्यामा खेल हुनेछ भने खुला चेस प्रतियोगितामा छात्रा १ र छात्रा १ गरी हरेक विद्यालयबाट सहभागि गराउन सकिने व्यवस्था गरिएको सचिवालय संयोजक तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले बताए । प्रतियोगितामा सामुदायकि विद्यालय संस्थागत र मदरसा गरी ६६ विद्यालयका १ हजार ३ सय २० खेलाडीहरु सहभागि रहेको सचिवालय संयोजक तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख मल्लले बताए ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयहरुलाई माध्यमिक आधारभूत र प्राथमिक तह क्रमशः ३३ हजार रुपैया, २० हजार र १४ हजार नगद पुरस्कार प्रदान गरिने सचिवालय संयोजक मल्लले जनाए । प्रतियोगिताको शुभारम्भ समारोहमा विभिन्न झाकी, विद्यालयहरुका मार्च पास तथा साँस्कृतिक कार्यक्रमहरु गरिएका थिए । प्रतियोगिता माघ ५ देखि १० गते सम्म सञ्चालन हुनेछ ।