नेपालगञ्जबाट नक्कली नोटसहित मेसिन बरामद

File Photo

प्रहरीले नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद गरेको छ ।

नेपालगञ्जको धम्बोझीचोकस्थित पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको हो ।

पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठा खोल्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताए । प्रहरीले होटलमा बसेको व्यक्तिको खोजी गरिरहेको छ ।