कोहलपुर नगर सभामा उठेका प्रमुख ४ सार्वजनिक समस्या

मसान घाट, ढल निकास, जग्गा नापी र मेडिकल कलेज कोहलपुरमा भएको समस्या

डिल्ली शाही, कोहलपुर ।

कोहलपुर नगरपालिकाको १२ औं नगर सभा सुरु भएको छ । शुक्रबार देखि सुरु भएको नगर सभामा प्रमुख चार समस्या उठेका छन् । सार्वजनिक महत्वका विषयमा आफ्नो धारणा राख्ने क्रममा वडा अध्यक्ष र सदस्यहरु गरी ७ जनाले प्रमुख चार समस्या उठान गरेका हुन् । कोहलपुर नगरपालिका भित्र विभिन्न समस्याहरु मध्ये प्रमुख पाँच समस्या जोडदार रुपमा उठेका छन् ।

कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष लाल बहादुर राना, वडा नं. ६ वडा सदस्य गोविन्द वाग्ले, वडा नं. २ का वडा सदस्य तारादेवी सिंह, वडा नं. १ का वडा सदस्य कविराम पुलामी, कार्यपालिका सदस्य ईश्वरी प्रसाद विश्वकर्मा, वडा नं. ३ का वडा अध्यक्ष माधव रिजाल र वडा नं. १० का सन्तोष पौडेल गरी ७ जनाले कोहलपुर नगरपालिका प्रमुख ५ समस्यालाई जोडदार रुपमा उठाएका थिए ।

उठेको विषय: कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाले मसान घाटको विषयलाई जोडदार रुपमा उठाएका थिए ।

सार्वजनिक समस्या : कोहलपुरमा चुनावी एजेण्डा नै बनेको हुन्छ मसान घाट तर अझै सम्म निर्माण हुन सकेको छैन । नेपालमा संघिय संरचना आएपश्चात कोहलपुरमा पहिलोे नगर प्रमुख लुट बहादुर रावतलाई पाएको थियो । उनकोे चुनावी एजेण्डा मसान घाट निर्माण नै थियो । प्रदेश र संघका निर्वाचिन होमिएका उम्मेदवारले समेत यसलाई एजेण्डाको रुपमा लिएका थिए । अहिले बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभाका सदस्य सुर्य ढकालले समेत मसान घाट निर्माणको विषयलाई निकै गम्भिरका साथ अंगालेका छन् । कोहलपुरमा रहेका सबै बासिन्दाहरुलाई अहिले मसान घाटको आवश्यकता परेको अवस्था हो । अहिले राप्तीसोनारी गाउँपालिकाको अगैयामा कोहलपुरबाट ४० किलोमिटर पार गरी मसान घाटमा पुर्‍याईन्छ । यो कोहलपुरको प्रमुख समस्या हो ।

उठेको विषय : वडा नं. ६ वडा सदस्य गोविन्द वाग्ले र १० वडा सदस्य सन्तोष पौडेलले ढल निकास र नालीका विषयका कोहलपुरमा प्रमुख समस्याका रुपमा रहेको बताएका थिए ।

सार्वजनिक समस्या : कोहलपुर नगरपालिका भित्र वर्षा लागेपछि थाहा हुन्छ नाली त बनाइयो तर ढल निकास हुँदैन भनेर । कुनै मापदण्ड निर्माण नाली निमार्ण गरिएका कारणले यस्तो समस्या आफै नगरबासीले भोगिरहेका छन् । अहिले कोहलपुरको टाउन प्लानिङ्गमा नै ठुलो विकरालको समस्या छ ढल निकास हरेक वर्ष ढुवान हुने गर्छ । उता रझेना हुँदै साँझ चोक र कतिपय टाउन प्लानिङ्गको पानीका कारणले कोहलपुर १० मा किसानहरुले लगाएको अन्न बालि समेत नष्ट हुने र खेती योग्य जमिन समेत कटान हुने समस्याले पिरोलेको छ । यो कोहलपुरका अन्य वडाहरुमा यो प्रमुख समस्या हो ।

उठेको विषय : कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य ईश्वरी प्रसाद विश्वकर्माले नेपालगञ्ज मेडिकल कलेजमा भएगरेका घटनाहरुको निकै गम्भिर रुपमा कोहलपुरका जनताले समस्या झेलिरहेको बताएका थिए । कोहलपुरका जनता सामान्य रुपमा गएतापनि अप्रेशन गर्ने, सिरिन्ज लगाउने क्रममा मृत्यु हुने भएकोले यसले कोहलपुरका जनताले गम्भिर रुपमा लिएको बताएका थिए ।

सार्वजनिक समस्या : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा केही दिन यता ओठमा काटिएको उपचारको लागि आएको थियो । आपतकालिन सेवामा उनको रगत रोक्नका लागि सिरिन्ज लगाइयो जसका कारणले उनको मृत्यु भयो । यस्ता विभिन्न किसिमका घटना र डायलासिस गरिरहेका व्यक्तिहरु समेत ४ महिनामा ३३ जना मृत्यु भइसकेको तथ्थांक छ । यसले कोहलपुरलाई संशकित बनाइरहेको अवस्था छ । अहिले कोहलपुर नगरका अधिकांश व्यक्तिहरु मेडिकल कलेज कोहलपुरमा उपचारको लागि डर त्रास भएको अवस्था छ । यो पनि कोहलपुरको एउटा प्रमुख समस्या हो ।

उठेको विषय : कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले नापी सम्बन्धीको काम निकै ढिलाई भइरहेको र विगतका सरकारले ५ वर्षमा १ नम्बर वडामा मात्र नापी गरेको बताए । अहिले यो कार्यकालमा वडा नं. २ मात्र नापी हुने या अन्य वडामा समेत काम सुरु हुने हो भन्ने कडा प्रश्न गरेका थिए ।

सार्वजनिक समस्या : भुमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नका लागि प्रमुख एजेण्डा सबै राजनितिक दलहरुले लिएका हुन्छन् । तर चुनावको बेलामा मात्र । अन्य बेलामा भने कुन समस्या कहाँ छ थाहा हुँदैन तर जब चुनाव आउँछ अनि समस्या खोजिन्छ । कोहलपुरमा ६० प्रतिशत ऐलानी बस्ती रहेको क्षेत्र हो । कोहलपुरका जनताले लालपूर्जा पाउने आशमा धेरै वर्ष कुरिरहेका छन् । लालपूर्जा वितरणको काम ढिलाई गर्नु आफैमा लज्जासपद विषय हो । त्यसकारणले यो कोहलपुरको एउटा प्रमुख समस्या हो ।

कोहलपुर नगर प्रमुख पूर्ण आचार्यले नगर सभामा उठेका विषय र आफुले गरेका कामको बारेमा आफ्ना धारणा ।

नगर सभामा बोल्दै नगर प्रमुख आचार्यले मसान घाट निर्माणका लागि सबैको सार्वनिक चासोको विषय भएकोले यसलाई सर्वदलिय बैंठकबाट मात्र समाधान हुने बताए । ‘नति तथा कार्यक्रममा मसान घाट निर्माण गर्ने भनी उल्लेख गरिसकेको छौं’ उनले भने ।

ढल निकास र नाली निर्माणमा समेत अहिले सार्वजनिक चासोको विषय रहेको आचार्यले बताए । ‘कोहलपुरका विभिन्न वडाहरुमा ढुवानको समस्या छ, त्यसलाई निकारण गर्नका लागि नक्सा पास गरेर मात्र घर निर्माण गर्ने, पहिले निर्माण गरेका घरहरु समेत नक्सा पास गर्ने र नाली निर्माण गर्दा होचो स्थानमा बनेका घरहरुलाई माटो हालेर अग्लो बनाउन नमिल्ने र नाली निर्माण गर्दा घरको आगन नै माथि हुने जस्ता प्राविधिक समस्याका कारणले ढल निकास हुन नसकेको बताए ।

तर यसलाई समाधानका लागि अहिले टाउन प्लानिङ्गमा नाली निर्माण भइसकेको छ भने अन्य वडामा नाली निर्माणको काम सुरुवात भइसकेको आचार्यले बताए । ‘नेपालगञ्ज मेडिकल कलेजमा डाक्टरहरुको लापरवाहीले विभिन्न घटना क्रमले गर्दा कोहलपुरका जनताहरुलाई असहज महशुस भएको छ, उनले भने, ‘त्यसकारणले केही दिनभित्रै सर्वदलिय बैठक गरी यसको समाधान गर्नुपर्छ ।’

यस्तै कोहलपुरमा नापी सम्बन्धी निर्वाचित भएको १ वर्षमा ४ वटा वडाहरुमा नापीको काम सुरु गरेको बताए । नापी सम्बन्धीको काममा निरन्तर काम भइरहेको छ । कोहलपुर नगरपालिका १ र २ वडाको अन्तिम चरणको र अन्य वडामा सुरु भइसकेको नगर प्रमुख आचार्यले बताए ।

कोहलपुर नगरपालिकामा सुशासन र अनुशासनका क्रियाकलापमा प्रभावकारी रुपमा सञ्चालन गरिरहेको उपप्रमुख संगिता सुवेदीले बताएकी थिइन । उनले विभिन्न योजना, बजार अनुगमन, होटल, सडक, नाली र न्यायिक सम्पादन सम्बन्धी अनुभवीसंग अन्तक्रिया गर्दै प्रभावकारी रुपमा काम गरिरहेको उपप्रमुख सुवेदीले बताइन् ।

नगर प्रमुखले पेश गरेका कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, कोहलपुर बांगमय प्रतिष्ठान विद्येयक २०७९, बजेट, योजना तथा कार्यक्रम संशोधन र नगरपालिकाको संगठन संरचनामा हेरफेर गरी ४ वटा प्रस्तावहरुमा आगामी माघ १३ गते बस्ने नगरसभाको अर्को बैठकमा दफावर छलफल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।