बाँसगढी पिपलबोटको वार्षिक साधारण सभा सम्पन्न, ४४ लाख बढी खुद नाफा

रावन विश्वकर्मा, बर्दिया

बर्दियाको बाँसगढीमा रहेको पिपल बोट बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । २३ करोड ४९ लाख ६१ हजार ७ सय ३७ रुपैया बराबरको कुल कारोबार गर्दै शनिवार संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाले यस बर्ष ४४ लाख ४ हजार ४ सय ४८ रुपैया शुद्ध नाफा गर्न समेत सफल भएको छ ।

संस्थाको साधारण सभालाई सम्बोधन गर्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले सहकारीले शेयर सदस्यहरुको जिवनस्तरमा परिवर्तन ल्याउन सक्नु पर्ने कुरामा जोड दिनुभयो । संस्थाले मुनाफा आर्जनमा मात्रै ध्यान नपुर्याई शेयर सदस्यहरुको जीवनस्तरलाई उकास्न पनि बिशेष ध्यान पुर्याउने खालका कार्यक्रम ल्याउन पर्नेमा नगर प्रमुख अधिकारीको बिशेष जोड थियो ।

त्यस्तै जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगानाले प्रतिफल दिने गरी सहकारी संस्था अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सहकारी संस्थाहरुको बिशेष चर्चा गर्दै समृद्ध राष्ट निर्माणमा सहकारीको अहम भुमिका रहेकोमा जोड दिनुभयो ।

साधारण सभामा संस्थाका अध्यक्ष नवराज अधिकारीले आर्थिक बर्ष २०७७।०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजक बिष्ण प्रसाद ढकालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा संस्थाले बिभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओडाएर सम्मान समेत गरेको छ ।

संस्थाले सहकारी संस्था मार्फत ऋण लिएर उत्कृष्ट व्यवसाय गर्ने बाटुली राजी, तारादेबी थरुनी र ओटेराम थारुलाई दोसल्ला ओडाएर सम्मान गरेको छ । त्यस्तै सबैभन्दा बढी शेयर लगानी गर्ने व्यवसाय भोजराज शर्मा, सबैभन्दा बढी बचत गर्ने २ जना भवन वहादुर सापकोटा र जंगलिया थारु, नियमित मासिक बचत गर्ने अम्बिका चापागाँई, सबै भन्दा बढी दैनिक बचत गर्ने हरिसचन्द्र पौडेल र बिष्णु प्रसाद ढकाललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

त्यस्तै थप हौसला बढाउन कर्मचारी सबैलाई मायाँको चिनो दिएर सम्मान समेत गरिएको थियो । संस्थाका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुंगाना, पिपलबोट सहकारी संस्थाका संस्थापक अध्यक्ष पुष्पराज बराल, पुर्व अध्यक्ष शिव देवकोटा लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेबी बुद्धिजिबी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो ।

संस्थाका उपाध्यक्ष बद्रीनाथ बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संञ्चालन व्यवस्थापक पुर्ण वलीले गर्नुभएको थियो । संस्थामा हाल १ हजार ८७ जना शेयर सदस्य रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । बार्षिक प्रतिवेदन अनुसार गत बर्ष भन्दा यस बर्ष शेयर सदस्यमा १३ प्रतिशत, शेयर पुँजीमा १३ प्रतिशत, बचत रकममा ३२ प्रतिशत, ऋण लगानीमा ४१ प्रतिशत, आम्बादीमा २५ प्रतिशत, खर्चमा ३१ प्रतिशत र जगेडामा २५ प्रतिशतले बृद्धि गरेको छ ।