बाँकेका कांग्रेस सभापति उम्मेदवार गौडेल समूहले खोल्यो सम्पर्क कार्यालय

काेहलपुर

नेपाली कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सम्पर्क कार्यालय खोलेको छ । नेपालगञ्ज मेडिकल कलेज अगाडि खोलिएको सम्पर्क कार्यालयको आज एक कार्यक्रमका बीच पार्टी सभापति किरण कोइरालाले उद्घाटन गरिन् । पुष २७ गते हुने जिल्ला अधिवेशनका लागि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पारेर सम्पर्क कार्यालय खोलिएको हो ।

गौडेल समूहको चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै सभापति कोइरालाले सशक्त, जुझारु र उर्जाशील गौडेल समूहले चुनाव जितेपछि पार्टीमा नयाँ उर्जा सञ्चार हुने बताइन् । “गौडेलजी लगायत अन्य उम्मेदवार सबै स्वयम् उर्जाबान र जुझारु हुनुहुन्छ, उहाँहरुले जितेर आएपछि पार्टीमा नयाँ उर्जा थपिन्छ,” कोइरालाले थपिन् । उनले आजका दिनदेखि अब गाउँ-गाउँ, नगर-नगर र वडा-वडामा गएर गौडेलको टिमलाई जिताएर पार्टीलाई बलियो बनाउने प्रयासमा लाग्न आह्वान गरिन् ।

सभापतिका उम्मेदवार गौडेलले पार्टीलाई सशक्त र सुदृढ बनाउँदै आगामी सबै तहका निर्वाचनहरुमा विजयी बनाउने प्रणका साथ आफूहरु पार्टीको चुनावमा प्रतिष्पर्धा गर्न होमिएको बताए । उनले आफ्नो टिमले जितेपछि पार्टी सशक्त ढंगले अघि बढ्ने बताए ।

संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले इमान्दार र कर्मशील गौडेल समूहलाई जिताउन सबैजना तन, मन र बचनले कटिबद्ध भएर लाग्नुपर्ने बताए । लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् युवा नेता टेकनारायण भुषालले कांग्रेसका इमान्दार कार्यकर्ताहरुको खस्केको मनोबल उकास्दै आगामी निर्वाचनहरुमा कांग्रेसलाई जिताउन गौडेल समूहलाई विजयी बनाउन आवश्यक रहेको बताए । गौडेल समूहले यही १९ गते आफ्नो समूहका उम्मेदवारहरुको घोषणा पनि गर्न लागेको बताएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उम्मेदवार घोषणा कार्यक्रम गर्न लागिएको सम्पर्क कार्यायल संयोजक युवा नेता डिल्ली गिरीले बताए ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ता, विभिन्न भ्रातृ संगठनका नेता कार्यकताहरुको उपस्थिति थियो । जिल्ला सचिव तप्त पौडेल, नेता हुर्मत न्यौपाने, प्रदेश कमिटी सदस्यहरु प्रेम केसी, इशाक जोलाह, अन्जना पाण्डे, दिक्षा कोइराला, प्रमेश्वरी पाठक, कृष्णा सापकोटा चौधरी, प्रदेशसभा १ ख का सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह, सचिव पदका उम्मेदवार सुधांशु कोइराला लगायतको उपस्थिति थियो । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ, दलित संघ, आदिवासी जनजाती संघ, मुस्लिम संघ, प्राध्यापक संघ लगायतका संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु पनि उपस्थित थिए ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।