नेपालगञ्जमा प्रहरीकै संरक्षणमा गुण्डागर्दी मौलाउदै

नेपालगञ्ज ।

लामो समयसम्म शान्त रहेको बाँकेमा पछिल्लो समय प्रहरी संरक्षणमा गुण्डागर्दीले प्रसय पाएको छ । बिगत केही समय यता दिनहुँ जसो ग्याङ्ग फाईट हुने र प्रहरीले एक पक्षलाई संरक्षण गर्ने अर्को पक्षलाई लखेट्ने गरेकोले गुण्डागर्दी बढ्दो क्रममा रहेको हो ।

गत आइतवार दिउँसो नेपालगञ्ज–४ गणेशपुरमा नेपालगञ्ज–१२ का अनुराग शाह, जानकी–३ का उज्ज्वल शाह र नेपालगञ्ज–४ निवासी शुभमजंग शाहलाई खुकुरी प्रहार एक समुहले घरमै गएर खुकुरी प्रहार गरेको थियो । गत आइतबार दिउसोको घटनामा संलग्नलाई ४ जनालाई नियन्त्रणमा लिएर सोमवार सार्वजनिक गरेको छ ।

घटनाको चुरोलाई भने प्रहरीले वास्तै नै नगरी पटक–पटक अर्कैतिर मोडेको वा मोड्ने गरेकोले दुई समुहबीच पटक–पटक घटना हुदै आएको बताईन्छ । गत मंसिर १६ गते नेपालगञ्जको स्टारलाईट होटलको क्यासिनोमा कार्यरत तासे भनिने प्रकाश थापा माथि अनुरागको समूहले कुटपिट काण्डलाई प्रहरीले नजर अन्दाज गरेपछि अर्कोदिन आइतबार दिउसो प्रकाश समुहले अनुरागको समुहलाई आक्रमण गरेको थियो ।

अंग्रेजी संवतको अन्तिम दिन नेपालगञ्जमा ‘न्यू इएर ईभ’ को लक्षित कार्यक्रम सञ्चालनमा रहेको बेलामा स्टारलाईटमा करिब ११ बजे अनुराग समुहले थापामाथि आक्रमण गरी नेपालगञ्ज नर्सिङ्ग होम पुराईएको थियो । त्यहाँ उनको उपचार गरी चोटमा दर्जनबढी टाँका लगाईएको अवस्था प्रहरीलाई जानकारी हुँदा पनि प्रहरीले सो घटनामा मौन बस्दा अर्कोदिन घटनाले उग्ररुप लिएको पाईन्छ ।

नेपालगञ्जमा स्टारलाईट होटल र त्यहाँ सञ्चालनमा रहेको क्यासिनो पटक–पटक गुण्डागर्दीको अखाडा बनेको छ । प्रहरीले भने हरेक घटनालाई त्यत्तिकै नजर अन्दाज गरेको कारण उग्र बन्दै गएको हो । गत जेठ २३ गते अपरहणको शैलीमा सोही होटलको क्यासिनोबाट कुटपिट घटना र सोही समुह पुन असार २४ गते नेपालगञ्जको किङ्गक्रशमा दुईजनालाई कुटपिट गर्दा पनि प्रहरीले सनाखतको बाहाना बनाएर घटनालाई दबाएको देखिन्छ ।

यसैगरी सोही समुहले सेतुबिक चोकमा रबिन विश्वकर्मा र विशाल खड्का माथि केही समुहले खुकुरी प्रहार गरी रविनको दुई औला काटिएको थियो सो केशमा पनि प्रहरीले लामो समयको कसरत गर्दा पनि मुद्दा दर्ता गर्न नचाहेको पीडितको भनाई छ ।

गत शनिबार स्टारलाईट होटलमा भएको घटनाको बदला लिने उद्धेश्यले आईतबार शाह समेत ३ जनामाथि योजना बनाई खुकुरी प्रहार भएको हो । दुबै समूह फरक–फरक राजनीतिक पृष्ठभूमीका छन् । घटना लगत्तै नेपाल तरुण दल बाँकेले विज्ञप्ती जारी गरी आक्रमणमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । पीडितलाई न्याय भएन र अपराधीमाथि कडा भन्दा कडा कारवाही नभएमा तरुण दल संघर्षमा उत्रिने चेतावनी दिइएको छ ।

नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ बाँकेले कानूनमा हातमा लिई गरिने क्रियाकलापमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । युवा संघले सो घटनाका सन्दर्भमा सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा घटनामा संलग्न नभएका मान्छेहरूको नाम जोडेर घटनालाई अतिरन्जित बनाएर आपसी रिस र बदलाको भावना राखी निर्दोष व्यक्तिहरूलाई फसाउने नियोजित योजना नबनाउन समेत जोडदार माग गरेको छ ।

अन्यथा निर्दोष व्यक्तिहरूको नाम जोडेर घटनालाई अतिरन्जित बनाउने प्रयास भएको खण्डमा राष्ट्रिय युवा संघ नेपाल देश व्यापीरूपमा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइएको ।

बाँके प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले आइतबारको घटनामा संलग्न चारै जनालाई डुडुवाबाट पक्राउ गरिएको बताए । घटनामा प्रयोग भएको एउटा भारतीय कार र दुई थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताए । घाइतेहरुको भारतको लखनऊमा उपचार भइरहेको छ । घाइतेमध्ये अनुरागको अवस्था गम्भीर रहेको जनाईएको छ ।

यसैबीच गत शनिबारको दिन स्टारलाईट होटलको क्यासिनोमा भएको कुटपिट बारे बाँके प्रहरीले आफ्नो अनविज्ञता जनाएको छ । बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले आइतबारको घटनाको मुख्य जड मानिएको शनिबार राती स्टारलाइटको घटनाबारे आफुलाई जानकारी नभएको बताए । उनले भने–‘ बुझ्नै पर्छ । नियन्त्रणमा परेका छन् अनुसन्धानमा आउला ।’

सदरलाइनबाट