डिसेम्बर १८ को दिन । आईतबारको त्यो चिसो साँझ ।
विश्वकपको फाईनल खेलको पुर्वानुमान र अत्यासले उकुसमुकुस थियो विश्व ।
कतारको मरुभूमीमाथि गजधम्म उभिएको भिमकाय स्टेडियम मानव आवाजको गुन्जनले झंक्रित थियो । र त्यो भन्दा बढि संसारभरका मानिसहरुको प्रार्थना थियो, एउटा सपनाको यथार्थ रुपान्तरणका लागि । त्यो प्रार्थना गर्ने अरबौको भिडमा म पनि थिएँ, नेपाल भन्ने देशबाट । देशको एउटा कुना कोहलपुरबाट । र कोहलपुरको पनि एउटा सानो कोठा भित्र, म उनै सर्वकालिक खेलाडी मेस्सीले ट्रफि उचालेको देख्न लालायित थिए, उद्धेलित र व्यग्र प्रतीक्षरत थिएँ । म साच्चिँकै अधैर्य थिएँ ।
८ वर्षको मेरो छोरो रोनाल्डोको फ्यान हो । तर फाईनल म्याच बाबासँगै हेर्छु भन्दै मेरो काखमा गुट्मुटिन आइपुग्यो । उसको दिमागमा यो छाप हुँदो हो, बाबा सुरुदेखि नै मेस्सी र अर्जेन्टिना किन भनिरहेका छन् यसरी ?
र अन्ततः बहुप्रतिक्षित खेल सुरु भयो ।
दुई तीन दिनदेखि बिरामी भएकी छोरी अर्को कोठामा रोईरहेकी थिईन् । चिसो छ । राधिकाले छोरीलाई तेल लगाउँदै थिइन् । म चुपचाप छु, पसलबाट घर फर्केपछि कपडा नफेरिकनै आँखाले टेलिभिजन समातेर बसेको छु ।
केही साथीहरू प्रोजेक्टरमा हेरौँ भन्दै थिए, कोहि पार्टी प्यालेसतिर जाऔँ भनेर दिउँसो देखि नै कर गरिरहेका थिए । ‘निमेष जी, विश्वकप हाम्रो घरतिर हेर्नुपर्छ है’ भनेर सामिप्यता देखाईरहेका थिए शरद जीले । उनीप्रति प्रेम मनमा थियो, तर घरमै विश्वकप हेर्छु भनेर मन बाँधेको थिएँ मैले ।
खेल चलिरहेको टेलिभिजन स्क्रिनबाट आँखाहरु भागेका थिएनन् ।
खेलमा सुरुदेखी नै सर्वकालिन महान खेलाडी मेस्सी प्रेरित अर्जेन्टिनाले बल नियन्त्रणमा राखिरहेको थियो र खेलको २३ औँ मिनेटमा फ्रान्सको डि एरिया भित्र डि मारियामाथि भएको फाउलमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फुटबलका जादुगर मेस्सीले एक गोलको अग्रता दिलाए । म एक पटक बुरुक्क उर्फिएँ ।
फुटबलको मुख्य सौन्दर्य भनेको गोल रैछ । अझ त्यसमाथी मेस्सीको गोल । खेल जारी छ, जारी छ बल र खेलमाथी स्पष्ट नियन्त्रण दक्षिणी अमेरिकी टिमको । जब ३६ औँ मिनेटमा डि मारियाले फ्रान्सेली डिफेन्सलाई चक्मा दिँदै गोल गरेर खेल २ : ० को अग्रता बनाए, अर्जेन्टिनाका डाईहर्ट फ्यानका लागि जीत सुनिश्चितताको अनुभूति भैगयो । फेसबुकको भित्तामा फ्रान्सेली डिफेन्स लाईन ध्वस्त, खेलमा अर्जेन्टिना हावी भन्ने खालका स्टाटसहरु आउन थाले । यता मलाई पनि अब खेल जितियो भनेर अनुहारमा उज्यालो बढ्यो ।
हाफटाईम पछिको ८० मिनेटसम्मको खेल कुनै उत्तेजना विना सकियो । फ्रान्सेली टिम न कुनै गतिलो प्रहार गर्न सक्छ, न बलमा नियन्त्रण, मात्र डिफेन्स गरिरहेको थियो । खेलको पासा तब पल्टियो जब अर्जेन्टाईन डिफेन्डर ओटमेन्डि फ्रान्सका मवाडीलाई आफ्नै गोल एरिया भित्र लडाउन पुगे । त्यहि गल्तिको फाइदा उठाउँदै फ्रान्सका प्रमुख स्ट्राईकर एम्बापेले पेनाल्टीमा गोलको दुरी २ : १ मा ल्याए । मलाई कतै चसक्क भयो ।
म स्तब्ध त त्यति बेला भएँ अब एक गोल फर्काएको दुई मिनेट नपुग्दै ऊनै एम्बापेले अर्जेन्टाईन डिफेन्सको असन्तुलनको मौका पारेर बलले जाली चुमाउँदै खेललाई २ः२ को बराबरी ल्याए । जितको नजिक पुगिरहेको खेल एकाएक नसोचेको तहमा आएर बस्यो । म चिसो भएँ ।
आशक्तिले मानिसलाई दुःख दिन्छ ।
अर्जेन्टिना र मेस्सीप्रति अरबौँ मानिसको आशक्ति छ, म जस्तै ति मानिसहरु त्यस घडि शिथिल भएका हुन सक्छन् । तर त्यस्तो किन हुन्छ ? बर्षौदेखिका आफ्नै सपनाका महलहरु एकाएक ढलिरहे जस्तो, म किँकर्तव्यबिमुढ भएर हेरिरहेको थिएँ मेस्सीलाई । र सोचिरहेको थिएँ, उनको मनमा के बितिरहेको होला । अझै हिम्मत कसरी जुटाईरहेका होलान् ।
घोडा भन्दा तेज दौड जस्तै खेलाडीहरुले एकअर्काको गोल पोष्टतर्फ बल दौडाइरहेका बेला, यता मुटुको चाल बढ्छ । टेलिभिजन स्क्रिनमा बल दौडिरहेको बेला यता शरिरमा रगतको लप्का एउटा अंगबाट अर्को अंगमा दौडिए जस्तो महसुस गरिरहेको थिएँ । तर कुनै पक्षबाट गोल हुन सकेन र खेल अन्ततः अतिरिक्त समयमा गयो ।
छोरो रेमनजँग काखमै निदाईसक्यो । उसलाई राधिकासँग सुताईदिएँ । अघिसम्म रोईरहेकी छोरी पनि सुतिन् । भर्खर तोतेबोलीमा बाबा भन्न थालेकी छोरी अलि ठुली भएकी भए दादासँगै मेस्सी हेर्छु भन्दि हुन् । फुटबलको नतिजाले मनमा बेचैनी र छटपटि बढेपछि मैले टेलिभिजन बन्द गरेँ । किनकी आफ्नै आँखा अगाडि मेस्सीको पराजय अकल्पनीय थियो ।
तर मेसेन्जरमा मेसेजहरु आइरहेका थिए । कसैलाई प्रतिउत्तर दिएको थिईनँ । दिपेन्द्र जीलाई ‘म सुतेँ’ भनेर मेसेज गरेँ । पल्लो टोलतिर फुटबल हेरिरहेकाहरुको आवाज धिमाधिमा आईरहेको थियो, कान बन्द गर्न खोजेर के हुन्थ्यो । वेचैनीको तीव्रताले म आहत थिएँ, ओहो त्यो छटपटाहट । यातनागृहमा चोटहरु सहन नसकेर छटपटाई रहेको कुनै अभियुक्त जस्तो ।
अचानक बाहिर ‘मेस्सी गोल’ भनेको आवाजले म जुरुक्क उठेँ । शरिरमा छुटै किसिमको उत्साहको सञ्चार पैदा भयो । तुरुन्तै दिपेन्द्र जीले फोन गरे, भनेँ ‘सर हामी जित्दै छौँ ।’ टिभी खोलेँ । उनै लियोले ११० औँ मिनेटमा गोल गरेछन् । तर अन्तिम सिटी फुक्न २ मिनेट अघि त्यहि हुन्छ, जुन नहोस् भनेर प्रार्थना गरिएको थियो । अर्थात अर्जेन्टिनाको सपनामा फेरि एम्बाप्पे बाधक बने । खेलको ११८ औँ मिनेटमा ह्यान्डबलमा पाएको पेनाल्टीलाई पुनः गोलमा परिणत गरिदिए । खेल पुरानै स्थितीमा टक्क अडियो ।
यस्तो कि संसार नै अप्ठ्यारोमा परे जस्तो । समय नै रोकिए जस्तो । ऊफ् कति गारो त्यो समय । कति उकुसमुकुस । म घरि आफनो कोठा छिर्छु घरि बाथरुम । फेरि हल कोठाको टिभि अगाडी उभिन्छु । भर्खरसम्म मेसेजहरुको ताँती लागेको मेसी फ्यान क्लब ग्रुपमा सन्नाटा छ, कसैले म्यासेज छोड्दैन ।
राधिका एक्कासी बोल्छिन् ‘नआतिनु, हजुरको टिमले जित्छ ।’ आफ्नै श्रीमानले विश्वकप जीतेर ल्याउन लागे जस्तो, हुनु न खानुको कुराले छट्पटाईरहेको पतिलाई उनले सान्त्वना दिईन् । खै आफ्नोपन भनेको यहि होकी । तर मन सम्हालिन सक्दैन । मनमा अनेक तर्कनाहरु धाराप्रवाह चलिरहेका थिए ।
मेस्सिले हारे भने के हुन्छ ? मेस्सी त्यो खेलाडी जसलाई बिश्वकप उपाधी जित्न मात्र बाँकि छ । र त्यसको एक कदम मात्र पछि छन् ।
२०१४ को विश्वकप फाईनलमा जर्मनीसँग पराजित भएर घर फर्किएका लियो त्यसको लगत्तै २०१५ र २०१६ मा कोपा अमेरिकाको फाईनलमै नमिठो पराजय भोगे । पछि ‘अब म सक्दिन मैले गर्न सक्ने यति नै थियो ।’ भन्दै खेल जिवनबाट सन्यास लिएका थिए । तर विश्वभरका करोडौं समर्थकको चाहना र आफ्नो देशका राष्ट्रपतिको विशेष आग्रहमा पुनः खेलमा फर्किएका लियोनल मेस्सी यसपटक पनि पराजित भए भने उनी कति टुट्लान् ! कति विचलित होलान ! मस्तिष्कमा नकारात्मकताको जालोले ढाक्छ । म आफै मेस्सी बनेर सोचेँ ।
तर खेलको टर्निङ पोइन्ट तब आयो, जब अतिरिक्त समयको ईन्जुरी समयमा फ्रान्सेली खेलाडीको कडा प्रहारमा अर्जेन्टाईन गोलकिपर ईमिलियानो मार्टिनेज पर्खाल बनेर अगाडी आईदिए, पोष्टतिर हानिएको प्रहार उनको खुट्टामा लागेर फर्कियो । लगत्तै खेलको अन्तिम सिठ्ठी बज्यो र खेल टाईब्रेकरमा होमियो ।
एक पटक सोचेँ, यदि त्यो अन्तिम प्रहार गोलमा परिणत भएको भए के हुन्थ्यो त्यो सोँच्दा पनि कहाली लाग्छ अहिले ।
त्यसपछि मनमा नयाँ उत्साहको अँकुरण हुन थायो, युवा प्रशिक्षक लियोनल स्कालोनीले अर्जेन्टेनी टिम सम्हाले यता टिमले २८ बर्षको उपाधीको खडेरी तोड्दै २०२१ मा कोपा उपाधी जितेको थियो भने २०२२ को फिनालिजिमा उपाधी पनि कब्जा गरेको थियो । यद्यपि कतार ओर्लिएको स्कालोनी टिम अन्य दाबेदार टिमभन्दा औषत थियो । मेस्सीन्टिनाको टिममा मेस्सीपछि भरोषामन्द खेलाडी अरु कोही छन् भने ती थिए आफुलाई बारम्बार प्रमाणित गरिसकेका अदभुत गोलकिपर ईमिलियानो मार्टिनेज ।
टाईब्रेकरको सुरुमा फ्रान्सका एमबाप्पेले गोल हाने । र मेस्सीले पनि सुन्दर गोल फर्काए, फ्रान्सको तर्फबाट दोस्रो नम्बरमा आएका कोमानले हानेको प्रहारलाई मारटिनेजले रोकिदिए । र तेस्रोमा आएका चुआमेनीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो भने अर्जेन्टाईन टिमबाट दोस्रो र तेस्रोमा आएका डिबाला र प्याराडेस दुबैको बलले जाली चुम्न पुग्यो । चौथो नम्बरमा आएका गोन्जालो मोन्टियालको गोलसँगै अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप उपाधीमा कब्जा जमाउन सफल भयो । जसका निर्विवाद हिरो दहरिए उनै विश्वविख्यात लियोनल आन्द्रेस मेस्सी ।
लुसेल रँगशाला त्यहि रँगशाला हो, जहाँ साउदी अरेबियाले २ : १ को अन्तरले अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो । र मेस्सीले पत्रकार सम्मेलनमा भनेका थिए ‘हामीमाथि विश्वास गर्नुहोस् हामीले पनि मरेको महसुस गरेका छौँ, अब हाम्रा प्रत्येक खेल फाईनल बराबर हुनेछन् ।’ यो भनाई संसार भरका उनका समर्थकका लागि जति ढाडस दिने जादुमयी बक्तब्य थियो, त्यो भन्दा अथार्थमा उनका खेलहरु भएँ । पुरै जादुमयी । नभन्दै अनपेक्षित हारको २६ दिनपछि त्यहि रँगशालामा अर्जेन्टिनाले उपाधीको झण्डा फहरायो ।
विजयोत्सव सुरु हुन्छ मेस्सी, उनका साथीहरु र लुसेल सटेडियममा उपस्थिति हजारौँ समर्थकहरु खुशीले ऊफ्रिन थाले । यता म पनि हर्षविभोर भई उफ्रिएँ । त्यो खुशी जो बर्षौँदेखी मनमा मृगतृष्णाको खिल बनेर बसेको थियो । मेस्सीले दुई हात उठाएर गरेको अभिबादन देख्दा अनायसै हर्षका आँसु खसे । निबन्धकार सागर गैरे दाईको फोन आयो, ‘केशव जी हामीले जित्यौँ ।’ उहाँको आवाजमा उत्साह थियो । उहाँसँगै हुनुहुन्थ्यो नवीन अभिलाषी । हामीले फोनमा विश्वकप विजयको हर्ष बाड्यौँ ।
मेस्सी भित्र विश्वकपको मृगतृष्णा कति गहिरो थियो भनेर उनले गोल्डेन बल लिँदा ट्रफिलाई चुमेको दृश्य हेरे पुग्छ, उनको लागि विश्वकप ट्रफिको महत्व कति थियो बुझ्नलाई बेडमा ट्रफिसँग सुतेको तस्बिर हेरे पुग्छ, अर्जेन्टिनाको लागि मेस्सी कति महत्वपुर्ण थिए, र त्यो विजयको उत्सव कस्तो थियो त्यो विजय जुलुसमा उर्लिएको मानव सागरको तस्वीरहरु हेरे पुग्छ । र अर्जेन्टाईनहरुको लागि यो उपाधीको अर्थ ब्युनस आर्यसमा खुशी मनाईरहेका लाखौँ समर्थकहरु हेरे पुग्छ ।
मेस्सीको जितले मेरो व्यक्तिगत जिवनमा कुनै फेरबदल त ल्याउँदैन तर शताब्दीकै एउटा महान खेलाडीको एउटा स्वर्णिम जितको प्रत्यक्ष साक्षी हुन पाउँदा म भित्र गर्वको अनुभुती छ । जीवन के हो ? जीवनमा संघर्ष र मेहनत के हो ? सफलता के हो ? त्यो मेस्सीको जीवन र उनले गरेको संघर्षले बताउँछ । कहिलेकाही हामी सफलताको लागि अधैर्य हुन्छौँ, तर के थाहा हुन्छ, विजयको समय १४ मै होईन, २२ मा आएर मात्र प्राप्त गर्न सकिन्छ भनेर ।
म आफुलाई खुसी महसुस गर्छु । म भित्रको मेस्सी अध्याय पुर्ण भएको छ । खेल सकिएपछि लेखक बुद्धि सागरले फेसबुकमा लेखेका थिए, ‘सम्पूर्ण चक्र पुरा गरेर मात्र मेस्सीको इतिहास लेखिन्छ ।’ फुटबलले मेस्सी बनाएको थियो भने मेस्सीले पनि फुटबलको एउटा युग बनाए ।
जिन्दगीको कुनै एक दिन म उनै छोरीलाई यो सुनाउने छु कि ‘छोरी तिम्रो बाबा मेस्सीले विश्वकप जितेको युगको मानिस हो ।’ यो संस्मरण लेख्दै गर्दा छोरी १० महिनाकि छिन् र उनी मस्त निदाईरहेकी छिन् । के उनले उनको देशले विश्वकप जितेको सपना देखिरहेकी छिन् ?
काेहलपुर टुडे । १३ पुष २०७९, बुधबार ०९:४६