नापतौल यन्त्र नवीकरण नगर्ने व्यवसायीमाथि कारबाहीको तयारी, कोहलपुरमा शिविरसँगै बजार अनुगमन सुरु हुँदै




कोहलपुर । नापतौलका यन्त्र दर्ता तथा नवीकरण नगरी व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीमाथि अब कडाइ हुने भएको छ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजना तथा गुणस्तर तथा नापतौल कार्यालय, बाँकेको सहकार्यमा नापतौल यन्त्र दर्ता तथा नवीकरण शिविर–२०८३ सोमबारदेखि कोहलपुरमा सुरु भएको छ।

व्यवसायीलाई आफ्नो नापतौलका यन्त्र कानुनी प्रक्रियामा ल्याउन अवसर प्रदान गर्दै शिविर सञ्चालन गरिएको हो। तर शिविर सुरु भएकै बेला गुणस्तर तथा नापतौल कार्यालयले मंगलबारदेखि बजार अनुगमन गर्ने तयारी गरेपछि नवीकरण नगर्ने व्यवसायीमाथि कारबाहीको जोखिम बढेको छ।

व्यापारिक प्रयोजनमा प्रयोग हुने तराजु, डिजिटल काटा लगायतका नापतौल यन्त्र दर्ता तथा नवीकरणबिना सञ्चालन गर्नु कानुनी रूपमा गम्भीर विषय हो। ग्राहकलाई वस्तुको वास्तविक परिमाण उपलब्ध गराउने जिम्मेवारी व्यवसायीको भएकाले नापतौलमा लापरवाही वा बदमासी गर्ने छुट कसैलाई नहुने गुणस्तर तथा नापतौल कार्यालय, बाँकेले जनाएकाे छ ।

विशेषगरी नवीकरणको म्याद सकिएर पनि वर्षौँदेखि यन्त्र प्रयोग गरिरहेका, प्रमाणपत्र नवीकरण नगरेका तथा नापतौलका उपकरणको नियमित परीक्षण नगराएका व्यवसायी अब अनुगमनको दायरामा पर्नेछन् ।

शिविरमार्फत सहज रूपमा नवीकरण गर्ने अवसर हुँदाहुँदै पनि प्रक्रिया पूरा नगरी ‘अनुगमन आएपछि हेरौँला’ भन्ने मानसिकता राख्ने व्यवसायीलाई महँगो पर्न सक्ने काेहपलपुर उद्याेग बाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराइले जानकारी दिए ।

गुणस्तर तथा नापतौल कार्यालयको टोलीले बजार अनुगमनका क्रममा व्यवसायमा प्रयोग भइरहेका नापतौलका उपकरणको अवस्था, दर्ता तथा नवीकरणलगायतका विषय जाँच गर्नेछ र कानुनविपरीत सञ्चालन भएको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्ने भट्टराइले जानकारी दिए  ।

कोहलपुर उद्योग वाणिज्य संघले सबै व्यवसायीलाई अनुगमनको टोली पसलमै पुगेपछि हतारिनुभन्दा शिविरमै पुगेर समयमै नापतौलका सामग्री नवीकरण गर्न आग्रह गरेका छन् ।

साेमबारदेखि सञ्चालन गरिएको शिविरलाई व्यवसायीले गम्भीरतापूर्वक लिनुपर्ने र नापतौलमा हुने कुनै पनि प्रकारको लापरवाहीले व्यवसायीको मात्र होइन, उपभोक्ताको अधिकारमाथि समेत प्रत्यक्ष असर पार्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने महासचिव दिपक बहादुर भण्डारीले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार