जन्मदिनको अवसरमा अध्यक्ष शर्माद्वारा पुस्तकालयलाई ६ हजार २२९ रुपैयाँ बराबरका पुस्तक हस्तान्तरण: गरे आफैबाट सुरुवात




कोहलपुर, बाँके । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरका अध्यक्ष एकराज शर्माले आफ्नो जन्मदिनको अवसर पारेर पुस्तकालयलाई विभिन्न विधाका पुस्तकहरू हस्तान्तरण गरेका छ्न । पुस्तकालयका पाठकहरूबाट माग भएका तथा पुस्तकालयका लागि आवश्यक रु. ६ हजार २२९ मूल्य बराबरका पुस्तकहरू अध्यक्ष शर्माले पुस्तकालयलाई हस्तान्तरण गरेको ज्ञानोदय सामुदायिक पुस्तकालयको पेजमा उल्लेख गरिएको छ ।


पुस्तक हस्तान्तरण कार्यक्रममा पुस्तकालयकी कार्यालय प्रमुख जानकी सापकोटा लगायत पुस्तकालयका पाठकहरूको उपस्थिति रहेको थियो। अध्यक्ष शर्माले पुस्तकालयमा अध्ययन तथा अनुसन्धानका लागि आउने पाठकहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै पुस्तकहरू उपलब्ध गराएको जानकारी दिएका छ्न । हस्तान्तरण गरिएका पुस्तकहरूले विशेषगरी विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थी तथा अन्य पाठकलाई अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


जन्मदिनलाई केवल व्यक्तिगत खुसी र उत्सवका रूपमा मनाउनुको सट्टा ज्ञान, शिक्षा र पठन संस्कृतिको विकासमा योगदान गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अध्यक्ष शर्माले पुस्तक हस्तान्तरण गरेका हुन । उनको यो कार्यले पुस्तकालय र पाठकबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पुस्तकप्रतिको रुचि र अध्ययन संस्कृतिको विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। उनले हरेक शुभेच्छुक व्यक्ती तथा महानुभावहरुले आफ्नो जन्मदिनको अवसर पारी पाठकको माग अनुसारका पुस्तकहरु पुस्तकालयमा हस्तान्तरण गर्न पनि सोसल मिडिया मार्फत अनुरोध पनि गरेका छ्न । यो अभियान आफैबाट सुरु गर्न पाउनु अवसर भएको समेत जानकारी दिएका छ्न ।


अध्यक्ष शर्मा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रसँग लामो समयदेखि जोडिँदै आएका थिए । उनी यसअघि पुस्तकालयको सचिवको जिम्मेवारीसमेत निर्वाह गरेका व्यक्ती पनि हुन। पुस्तकालयको संस्थागत विकास, पठन संस्कृतिको प्रवर्द्धन तथा समुदायमा ज्ञानको पहुँच विस्तार गर्ने कार्यमा उनको निरन्तर चासो र सक्रियता रहँदै आएको छ।
पुस्तकालयमा मात्र नभई अध्यक्ष शर्माले विगतमा विभिन्न शैक्षिक संस्थाहरूमा समेत पुस्तक उपलब्ध गराउँदै आएका छ्न । केही वर्षअघि उनले वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर–११, ज्ञानज्योति माध्यमिक विद्यालय, कोहलपुर–१२ र लक्ष्मी माध्यमिक विद्यालय, कोहलपुर–२ मा समेत पुस्तकहरू प्रदान गरेका थिए । यसरी शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक उपलब्ध गराउँदै आउनुले उनिमा शिक्षा, अध्ययन र पठन संस्कृतिको विकासप्रतिको निरन्तर प्रतिबद्धता देखिन्छ।
पुस्तक हस्तान्तरण गर्दै अध्यक्ष शर्माले पुस्तकालय समुदायको साझा ज्ञान केन्द्र भएकाले यसको समृद्धिका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको जानकारी दिए । पुस्तकालयमा पाठकको मागअनुसारका पुस्तक थपिँदै जाँदा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा आम पाठकलाई अध्ययनका लागि थप सहज वातावरण बन्ने उनको विश्वास छ।
यस अवसरमा पुस्तकालयकी कार्यालय प्रमुख जानकी सापकोटाले पुस्तकालयका पाठकहरूको मागलाई सम्बोधन गर्दै जन्मदिनको अवसरमा समेत पुस्तकालयलाई पुस्तक उपलब्ध गराएकोमा अध्यक्ष शर्माप्रति धन्यवाद व्यक्त गरिन । उनले पुस्तकालयको आवश्यकता र पाठकहरूको रुचिअनुसार प्राप्त भएका पुस्तकहरूलाई व्यवस्थित रूपमा उपयोगमा ल्याइने वताए ।
त्यस्तै, उपस्थित पाठकहरूले पनि पुस्तकालयमा आवश्यक र उपयोगी पुस्तक थप गरेकोमा अध्यक्ष शर्माप्रति आभार व्यक्त गरेका थिए। पाठकहरूले यस्ता सहयोगले पुस्तकालयमा अध्ययन गर्ने वातावरणलाई थप प्रभावकारी बनाउने र विद्यार्थी तथा प्रतियोगितात्मक परीक्षाको तयारी गर्नेहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन्।

शिक्षा अपडेट बांके पुस्तकालयको पेजमा कमेन्ट गरेको छ कि जन्मदिनमा केक काटेर मात्र होइन, पुस्तक दान गरेर पनि मनाऔँ—जसले सक्षम नागरिक निर्माणमा योगदान पुर्याओस्। हामीबीच भएको यही सकारात्मक छलफललाई आत्मसात गर्दै आदरणीय सर एकराज शर्मा ज्यूले आफ्नो जन्मदिनको अवसरमा करिब ५/७ हजार रुपैयाँ बराबरका समसामयिक तथा ज्ञानवर्धक पुस्तकहरू हस्तान्तरण गर्नुभएको छ। यो अनुकरणीय एवं पवित्र कार्यका लागि सर एकराज शर्मा ज्यूलाई कोटिकोटि जन्मदिनको शुभकामना तथा हृदयदेखि सम्मान। अब तपाईंको जन्मदिन पनि ज्ञानोदय सामुदायिक पुस्तकालयमा पुस्तक हस्तान्तरण गरेर ज्ञान बाँड्ने दिन बनाऔँ।
एउटा पुस्तक एउटा ज्ञान, एउटा ज्ञान र एउटा सक्षम नागरिक।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र परिवारले अध्यक्ष शर्माको जन्मदिनको अवसरमा पुस्तकालयलाई महत्वपूर्ण शैक्षिक सामग्री उपलब्ध गराएकोमा हार्दिक आभार व्यक्त गर्दै उनको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गरेको छ। जन्मदिनमा केक र शुभकामनासँगै ज्ञान बाँड्ने संस्कार अध्यक्ष शर्माको यो पहलले ‘पुस्तक उपहार, ज्ञानको विस्तार’ भन्ने सन्देशलाई थप सार्थक बनाएको छ भन्ने उल्लेख गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार