पत्रकार महासंघको केन्द्रिय साधारण सभा आज हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार(आज) देखी नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभा हुदैछ । साधारण सभामा सहभागी हुन देशभरका पत्रकारहरु सुर्खेत आइपुगेका छन् ।

उक्त साधारण सभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए । कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेशका विभिन्न गाउँपालिका र नगरपालिका प्रमुख पनि उपस्थित हुने बताइएको छ ।

साधारण सभा उद्घाटन गर्नुअघि अहिले केहीबेरमा स्थानीय मंगलगढीबाट प्रभातफेरी निकालिने भएको छ । त्यसपछि बिहान १० बजे राष्ट्रपतिले साधारणसभाको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष सेजुवालले बताए ।

देशभरबाट आएका पत्रकारलाई वीरेन्द्रनगरका विभिन्न होटलमा बास बस्ने व्यवस्था मिलाइएको छ । देशभरका पत्रकारले कर्णालीका पर्यटकीय क्षेत्रको पनि अवलोकन गर्न पाउनेछन् । साधारण सभामा ७ सयभन्दा बढी पत्रकारको सहभागिता हुने अनुमान गरिएको छ ।

दुई दिनसम्म चल्ने साधारण सभामा महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा) र एन्जा शाखाका पदाधिकारी तथा राष्ट्रिय परिषद सदस्य सहभागी हुनेछन् ।