ठेलागाडा व्यवस्थापन गर्दै कोहलपुर

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले ठेलागाडा व्यवस्थापन गर्न थालेको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेको सडक तथा फुटपातमा राखिएका ठेलागाडाहरुलाई व्यवस्थापन गर्न थालेको हो । कोहलपुर नगरपालिकाको कार्यापालिकाको मंसिर २७ गतेको निर्णय अनुसार कोहलपुर उद्योग वाणिज्य संघको परिसरमा सडक तथा फुटपातमा राखिएका ठेलागाडाहरुलाई व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले कोहलपुर टुडेसंग कुराकानी गर्दै २ सय जना सडक तथा फुटपातमा राखिएका ठेलागाडाहरुलाई व्यवस्थापन गर्न लागेको बताए । ‘नगरपालिकाले गरेको निर्णयलाई सहमत जनाउँदै ठेलागाडाहरुलाई व्यवस्थापन गर्न लागेका हौ’ उनले भने ‘उहाँहरुको लागि न्यूनतम शुल्कमा सस्तो बजारको रुपमा स्थापना गर्नेछौं ।’ ठेलागाडा भएपनि उहाँहरु स्वरोजगार हुनुहुन्छ उनले थपे ठेलागाडा हटाउने होइन, उहाँहरुको साथ सहयोग उद्योग वाणिज्यले गर्नेछ ।’ त्यसैले शौचालय, खानेपानी र विजुलीको समेत व्यवस्थापन गरी आफ्नै परिसरमा राखिरहेको अध्यक्ष पौडेलले बताए ।

कोहलपुर नगरपालिका नगर प्रहरी प्रमुख विर बहादुर थापाले कोहलपुर टुडेसंग कुराकानी गर्दै पालिकाले व्यवस्थापन गर्ने निर्णय गरिसकेको बताए । ‘अबको केही दिनमा नै व्यवस्थापन हुन्छ’ उनले भने, ‘त्यसपछि पनि सडक तथा फुटपातमा ठेलागाडा देखियो भने जफत गर्छौ ।’ त्यसकारणले नगरपालिकाको निर्णय विपरीत काम गर्ने वा गराउने दुबैलाई कारवाही गर्ने थापाले बताए ।