मोरङ क्षेत्र नम्बर ६ ‘ख’ मा कांग्रेसका कार्की निर्वाचित




विराटनगर ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका केदार कार्की निर्वाचित भएका छन् ।
कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएर दोस्रोपटक विजयी बन्दै प्रदेशसभाको यात्रा तय गरेका कार्कीले १० हजार ४५० मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पर्शुराम बस्नेत (कृष्ण) ले ९ हजार २७३ मत ल्याए । कार्कीले बस्नेतलाई १ हजार १७७ मत अन्तरले पराजित गरेका हुन् ।
कार्की २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यतिबेला ११ हजार २९८ मतका साथ कार्की विजयी हुँदा एमालेका रमेश पोखरेलले ८ हजार १२० मत मात्रै ल्याएका थिए ।

कार्कीसँग पराजय व्यहोरेका बस्नेतले उनलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिए । मतगणनास्थल विराटनगरको आदर्श विद्यालयमा पुगेर बस्नेतले कार्कीलाई बधाई दिएका हुन् ।

टीका र माला लगाएर बधाई दिँदै उनले कार्कीलाई मतदाताको समस्या सम्बोधनमा केन्द्रित हुन आग्रह गरे । ‘अघिल्लो पटक जितेर गएपछि फर्किएर आएनन् भन्ने जनताको गुनासो थियो,’ कार्कीलाई बधाई दिँदै बस्नेतले भने, ‘आगामी दिनमा त्यस्ता गुनासा नआउने गरी मतदाताको पक्षमा काम गर्न आग्रह गर्छु ।’

मोरङ क्षेत्र नम्बर ६ ‘ख’मा विराटनगर महानगरपालिकाको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार