बाँके २ मा समानुपातिकको मतगणना शुरु, जसपाको अग्रता

बाँके २ मा प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै बुधबार बिहानबाट समानुपातिकतर्फको मतगणना शुरु गरिएको छ ।

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभा र प्रदेससभाको नतिजा सार्वजनिक गरेर समानुपातिक तर्फको मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह मेहरका अनुसार क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको मतगणना सकेर परिणाम समेत घोषणा गरेपछि बुधबार बिहान ८ बजेबाट प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना शुरु गरिएको बताउनुभयो ।

पहिलो राउण्डमा १२ हजार ८२३ मतलाई एकै पटक खन्याएर पट्याई गणना शुरु गरिएको उहाँले बताउनुभयो ।

जारी रहेको पछिल्लो मतगणना अनुसार बाँके २ को समानुपातिकमा जनता समाजवादी पार्टीले शुरुवाती अग्रता लिएको छ भने राप्रपा र एमालेले पनि पछ्याइरहेको छ ।

हालसम्मको मतगणना अनुसार जनता समाजवादी पार्टीले १ हजार ३६७ मत प्राप्त गरेको छ भने राष्टिय प्रजातन्त्र पार्टीले ७८३, नेकपा एमालेले ७१३ मत प्राप्त गरेको छ । सोही प्रकारले नेपाली काँग्रेसले ७०६ र राष्टिय स्वतन्त्र पार्टीले ४०२ मत प्राप्त गरेको छ ।

दुई दिनमा प्रतिनिधिसभा र प्रदेशसभा दुबै मतगणना सम्पन्न गर्ने गरि मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँकेका अन्य दुई क्षेत्रमा भने अझै पनि प्रत्यक्षतर्फकै मतगणना भैरहको छ ।