कोहलपुर ।
आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनको मिति आउन अब चार दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा राजनितिक दल र स्वतन्त्र उम्मेदवारहरुले मतदाताको घरदैलोमा मत मागिरहेको अवस्था छ ।
अहिले निर्वाचन आयोगले उम्मेदवारहरुले खर्च पाउने अधिकतम सिमा समेत तोकेको छ । विगतमा निर्वाचन आयोगले खर्चको सिमा नतोकिँदिदा राजनीतिक दल, तिनका उम्मेदवारले चन्दा उठाए र दबाब दिए भन्ने सुनिन्थ्यो । तर, यसपटक आमरूपमा त्यस्ता गुनासा सुनिएको छैन । तर निर्वाचन भने महङ्गो छ भन्ने चर्चा चलिरहेको छ ।
अघिल्ला निर्वाचनमा विभिन्न राजनितिक दल र उम्मेदवारले बर्जजस्ती चन्दा उठाउने वा दवाव धम्की दिएको भन्ने गुनासाहरु आउने गरेका थिए तर यसपटक त्यस्तो सुन्नु नपरेको स्वयं बाँकेका उद्योगी तथा व्यवसायीहरु बताउँछन् ।
अर्थतन्त्रमा चर्को दबाब परेको, उद्योग व्यवसायसमेत मर्कामा परेका कारण बाँकेका उद्योग वाणिज्य संघका पदाअधिकारीहरु समेत अहिले आन्दोलनमा होमिएका छन् । विगत असोज ६ गतेदेखि कोहलपुरदेखि वस्तुगत, एशोसिएट र साधारण उद्योेगी व्यवसायीहरु आन्दोलनमा होमिएका छन् ।
अहिले पनि शान्तिपूर्ण तरिकाले आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन् । स्वयं उद्योगी तथा व्यवसायी आफैँले पनि चन्दा दिनसक्ने अवस्थामा छैनन् । रुस र युक्रेन संघर्षका कारण अर्थतन्त्रमा बाह्य दबाब कायमै छ ।
बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका कारण मुलुकको समग्र अर्थतन्त्रमा प्रभाव परेको छ । अहिले सहज रूपमा ऋण पाउने अवस्था छैन । उच्च ब्याजदरका कारण लगानीकर्ताको मनोबल घटेको टिप्पणी भइरहेको छ । त्यसकारण पनि उद्योगी व्यवसायीले निर्वाचनका लागि भनेर यसपटक चन्दा दिन सक्ने अवस्था नरहेको उद्योगी तथा व्यवसायीको भनाई छ ।
यस्तै उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेलले यसपटक निर्वाचनको लागि व्यवसायीबाट चन्दाको उठाउन दवाव नआएको बताए । ‘व्यवसायीहरू आफैँ चन्दा दिनसक्ने अवस्थामा छैनन्’ उनले भने, ‘व्यापार व्यवसायलाई नियमित राख्ने भन्ने चिन्तामा रहेका व्यवसायीले चन्दा कसरी दिनु ?’ कतिपय पार्टीका नेता तथा उम्मेदवारलाई स्वतः स्फूर्त रूपमा केहीले सहयोग गरेको भए पनि आमरूपमा सहयोग गर्न नसक्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए । ‘हामीले भोट दिएर सहयोग गर्छौं, नोट दिन सक्दैनौँ भनेका छौँ,’ पौडेलले थपे ।
यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेम विक्रम जिसीले अर्थतन्त्र चापमा परेको विषयमा प्रमुख राजनीतिक दल र उम्मेदवार आफैँ जानकार रहेको बताए । ‘बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव उस्तै छ’ उनले भने, ‘चौतर्फी दबाबका कारण नेपाल बैंकर्स संघले आगामी महिना ब्याजदर नबढाउने निर्णय गरेका छन् ।’ उम्मेदवारलाई भोट दिएर सहयोग गर्ने तर नोट दिन नसक्ने जिसीले स्पष्ट पारे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्