उम्मेदवारहरुको भविष्य बाकसमा शिलबन्दी, फैसला हुन बाँकी

रावन विश्वकर्मा,
बर्दियामा १ हजार ७ सय १ जनाको भविष्य बाकसमा शिलबन्दी गरिएको छ । शुक्रबार सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा बर्दिया ८ वटा पालिकाका बिभिन्न पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको भविष्य अतिवेला मतपेटिका (बाकस)मा सिलबन्दी गरि राखिएको छ । बर्दियाको सबै पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, अन्य जनप्रतिनिधीहरु सम्पन्न निर्वाचनबाट जनताले चुनिसकेका छन् । तर फैसला हुन मात्रै बाँकी छ । मतदाताहरुले आफुले मन परेको जनप्रतिनिधी छनोट गर्न उत्साहका साथ मतदान गरेका छन । बिहान ७ बजे देखी बेलुकी ५ बजे सम्म मतदानको समय तोकिएको भए पनि ५ बजे भित्र मतदान स्थलमा प्रवेश गरेका मतदाताहरुले बेलुकी ७ बजे सम्म मतदान गरेका थिए । बर्दियाका ८ वटा स्थानिय तहका ७५ वडामा शान्तिपुर्ण र भयरहित वातावरणमा मतदाताहरुले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । मतदान स्थलहरुबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याईएको र आजै राजनितिक दल र उम्मेदवारहरु सहितको सर्वपक्षिय बैठक पछि मतगणना गरिने जनाईएको छ । जिल्लाको बाँसगढी नगरपालिका १ अन्तर्गत लक्ष्मी मावि चेपाङ्गको मतदान स्थलमा निर्धारित समयमा मतदान सकिएको थियो । मतदाताहरुको सबै मतदान स्थलहरुमा बिहानै देखी हर्ष उल्लासमय उपस्थिति थियो । ३ लाख ११ हजार ४ सय १० मतदाता रहेको बर्दियामा १ सय ५३ वटा मतदान स्थल र ३ सय ७१ वटा मतदान केन्द्र राखिएको थियो । स्थानिय तहको निर्वाचनलाई भयरहित र शान्तिपूर्ण तरीकाले सम्पन्न गर्न नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरी २ हजार ७ सय ५९ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।