घनश्याम रेग्मी
टाढा गए घाम चिसो बढेछ
अचम्मको याम यही रहेछ
त्यो उष्ण तातो अघिको हरायो
कामेर बस्ने अहिले गरायो । १
बाक्ला लुगा किन्न छ बच्नलाई
खोलौँ कि ता बाकस झिक्नलाई
कि बाल आगो दन दन्न पार
तातो दिने वस्तु तयार पार । २
बिहानमा पट्पट शीत खस्छ
ढुडी बसी सूर्य समेत छेक्छ
पाउन्न तात्नै दिन ढल्न थाल्छ
र साँझ चाँडै अझ पर्न थाल्छ । ३
लामा भए रात छ कष्ट धेर
घटेर आयो दिनको उमेर
आगो धुनी हर्हर पार भाइ
बाँचौँ बचाऔं अलि ताप पाई । ४
पानी चिसो झन् नदको नलीको
जमेर बस्ने मनकी छलीको
बेला थियो बालक काल खेल्थ्यौ
खेलेर जाडो सब बिर्सिदिन्थ्यौ । ५
छ आस भित्री मनमा उषाको
जानेछ कालो तम यो निशाको
फिर्नेछ हाम्रो दिन रम्य भोलि
वसन्त राम्रो रङ राग घोली । ६
छन्द :- उपजाति
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्