इन्टरनेट विस्तारका लागि साढे सात अर्ब खर्च

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषअन्तर्गत सञ्चालित सूचना महामार्ग पूर्वाधार निर्माणमा हालसम्म १ हजार ६४६ किलोमिटर अप्टिकल फाइबर बिछ्याईएको जानकारी दिएको छ।

प्राधिकरणका अनुसार कुल ६ हजार ३३१ किलोमिटरमध्ये २५.६३ प्रतिशत भौतिक प्रगति हासिल गरिएको छ।

प्राधिकरणले ग्रमिण दूरसञ्चार बिकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्न ३ ओटा प्याकेजमा ९ अर्ब ८९ करोड १७ लाख रुपैयाँमा सम्झौता गरेको थियो।

असोज मसान्तसम्म प्राधिकरणले २ अर्ब ९ करोड ३८ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरेको छ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ जेष्ठमा धादिङको गल्छीबाट मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गरेका थिए।

प्याकेज १ अन्तर्गत प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनका लागि नेपाल टेलिकमलाई जिम्मा दिइएको छ। हालसम्म नेपाल टेलिकमले १ हजार ३२६ किलोमिटर आर्थत ६०.८५ प्रतिशत अप्टिकल फाइबर बिछ्याएको छ।

यस्तै २७ ओटा डीडब्ल्यूडीएम सिस्टमहरु जडान भई कलस्टर १ को सम्पूर्ण १३ साईटहरुको माइक्रेसन सम्पन्न भई इस्युहरु रिसलुसनको काम भइरहेको छ। कलस्टर २ को १३ मध्ये १२ साईटहरुको कमिसनिङको कार्य सम्पन्न भई कलस्टर २ (घुर्मी बाहेक)को प्रोभिसनल एसेप्टेन टेस्ट (पीएटी) कार्य सम्पन्न भएको छ। ४७ ओटा कोर राउटर इक्यूमेन्टहरुको जडान कार्य सम्पन्न भई फाइनल एसेप्टेन्स सर्टिफिकेसन (एफएसी) जारी भई वारेन्टीको चरणमा रहेको छ।

प्याकेज २ अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा भौतिक प्रगति शुन्य रहेको छ। यस प्याकेजका लागि युनाइटेड टेलिकमलाई २ वर्ष भित्रमा कार्य सम्पन्न गर्ने गरी सम्झौता गरिएकोमा कम्पनीले सम्झौता बमोजिम कार्यको प्रगति शुन्य रहेको हुँदा आयोजना सम्पन्न हुनेमा प्राधिकरण विश्वस्त नभएकाले सम्झौता म्याद थप नगर्ने निर्णय गरेको छ। उक्त निर्णय बदर गर्नका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र सो विषयमा अदालबाट उक्त रिट निवेदनको टुंगो नलागेसम्म अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

प्याकेज ३ अन्गर्तत कार्णली र सुदूरपश्चिम प्रदेशमा १ हजार ९९२ किलोमिटर अप्टिकल फाइबर जडान गर्नु पर्नेमा ३२० किलोमिटर जडान भएको छ। यस प्याकेजको जिम्मा पाएको नेपाल दूरसञ्चाल कम्पनीले १६.०६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ।

उच्च क्षमताको डीडब्ल्यूडीएम उपकरण अन्तर्गत २६ मध्येमा २३ स्थानहरुमा जडान सम्पन्न भई कलस्टर १ को १६ साइटहरुको एसेप्टेन्स सर्टिफिकेट (एसी) जारी भएको छ। कलस्टर २ को ९ साइटहरुको एसेप्टेन्स टेस्ट (टीए) कार्य सम्पन्न भएको र जडित डीडब्ल्यूडीएमको सर्भिस माइग्रेसन कार्य भइरहेको छ।

कोर राउटर उपकरण अन्तर्गत ४६ साइटहरुको जडान कार्य सम्पन्न भई प्राइमेरी एसेप्टेन्स टेस्ट (पीएटी)को प्रक्रियामा रहेको छ। साथै माइक्रोवेब ट्रान्समिसन नेटवर्कको फ्याक्ट्री इन्सेप्सनको कार्य सम्पन्न भएको छ। अप्टिकल फाइबर नेटवर्क (यूजी) प्याकेट १ र २ को लागि एलओए जारी भएको र प्याकेज ३ को लागि सम्झौता भएको छ।