शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकालाई शैक्षिक हवकारुपमा अगाडि बढाउने गरी योजना अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्धारमा रहेको उदाउँदो सहर कोहलपुरलाई शैक्षिक हवकारुपमा विकास गर्ने योजनासहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको हो ।

सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक एवम् क्षमता विकास सम्बन्धी शनिवारदेखि नगरपालिकामा सुरु भएको दुई दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने बताए ।

‘कोहलपुरलाई शिक्षामा नमुना बनाउन चाहान्छौं उनले भने,  ‘शैक्षिक गुुणस्तर सुधारका निमित्त कसैको राजनीतिक दवाव अव स्विकार्य हुन सक्दैन् ।’ उनले शिक्षक संघसंगठनहरुलाई शिक्षामा राजनीति नगर्न चेतावनी दिए ।

‘राम्रो काम गर्दा गर्दै पनि कर्मचारीमाथि अनावश्यक दवाव दिने प्रवृत्ति देखिएको छ अव त्यसलाई निरुत्साहित गरिन्छ उनले भने, ‘कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि सबैको भूमिका महत्वपूर्ण छ ।’ उनले कर्मचारीहरुलाई भयरहित तरिकाले काम गर्ने वातावरण निर्माण गर्न आफु प्रतिबद्ध रहेको बताउँदै कसैको दवाव र प्रभाव स्विकार्य नहुने बताए ।

उनले कोहलपुरको शैक्षिक गुणस्तर सुधारकै निमित्त शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका जितबहादुर शाहलाई विज्ञकारुपमा नियुक्त गरिएको पनि स्पष्ट पारे ।

विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि प्रविधिमैत्री बनाउने सवालमा पनि नगरपालिका प्रयत्नशील रहेको उल्लेख गरे ।

यस्तै कार्यक्रममा बोल्दै शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले कोहलपुरको शैक्षिक गुणस्तर सुधारका लागि प्राज्ञिक नेतृत्व जरुरी रहेको बताए । प्रशासनिक नेतृत्वले शैक्षिक गुणस्तर सुधार सम्भव नभएकाले विद्यालयको नेतृत्वले विद्यालयलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको बताए ।

भोलिसम्म चल्ने तालिममा कोहलपुरका सामुदायिक विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षगरी करिव ७० जनाको सहभागिता रहेको छ । उनीहरुलाई नगरपालिकाका शिक्षा विज्ञ जितबहादुर शाहले प्रशिक्षण दिनु हुनेछ ।

कार्यक्रममा विद्यालयका प्रअहरुले विद्यालयको गतिविधि र योजनाबारे जानकारी गराएका थिए । कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा शिक्षा शाखा प्रमुख हमालले स्वागत मन्तव्य राखेका थिए । तालिममा उपप्रमुख संगिता सुवेदी, प्रशासकिय अधिकृत टीकाराम ढकाल, वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

नगर उपप्रमुख छात्रावृत्ति वितरण

कोहलपुर नगरपालिकाले नगर उपप्रमुख छात्रावृत्ति वितरण गरेको छ । विएलई र एसइईमा उत्कृष्ट १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई जनही साढे सात हजार नगद र प्रमाणपत्र प्रदान गरिएको शिक्षा शाखा अधिकृत रवि मिजारले जानकारी दिए ।

एसइईतर्फ त्रिभुवन उच्च मावि विद्यानगरकी आयुशा वली र प्रशान्त बुढाथोकी संस्थागत तर्फ गोर्खा युनाइटेडका अनुज पौडेल, लक्ष्मी गुप्ता र अनुराग शाही यस्तै विएलई तर्फ कृष्ण मावि कौशिलानगरकी सदिक्षा अधिकारी, त्रिभुवन माविका अंकित पौडेल, ब्रिज इन्टरनेशनल स्कुलका सिम्रण थापा, पञ्चमुखि इंग्लिस मिडियम स्कुलका सुमित यादव र बागेश्वरी एकेडेमीका गोपाल जंग खत्रीलाई छात्रावृत्ति वितरण गरिएको हो । उत्कृष्ट विद्यार्थीलाई नगर प्रमुख पुर्ण प्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदीलगायतले नगद र प्रमाणपत्रले सम्मानित समेत गरे ।