भैरहवा ।
हिमालय एयरलाइन्सले बिहीबार १ सय ३७ जना यात्रु बोकेर भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि पहिलाे उडान सुरू गरेको छ। मलेसियाबाट दिउँसो १२:३० बजे भैरहवा विमानस्थल अवतरण गरेको हिमालयको जहाज ३ बजे भैरहवाबाट क्वालालम्पुरका लागि उडेकाे हो।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एभिएसन सेक्टरकाे र अपरेसनल अडिट गरेर उडान सञ्चालन सुरू गरेकाे बताए । भैरहवा विमानस्थलबाट दैनिक उडानका लागि हिमालयले नागरिक उड्डयन प्राधिकरणसँग दुइटा माग राखेको छ।
उपाध्यक्ष श्रेष्ठका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र भैरहवा विमानस्थलमा कमर्सियल (व्यावसायिक) ग्राउन्ड ह्यान्डलिङको जिम्मा हिमालयलाई दिएमा यसले भैरहवाबाट यात्रुबाहक उडान सुरू गर्नेछ।
ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्गत कम्पनीले यात्रुको बोर्डिङ, चेक-इन, ब्यागेज, कार्गो ट्रली, र्याम्प बस लगायत सेवा दिनुपर्ने हुन्छ। हाल प्राधिकरणले भैरहवा विमानस्थलमा एक वर्षका लागि ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई दिएको छ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी दिनमा प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिइने बताए। ‘अहिले नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङ जिम्मा पाएकाे छ,’ अधिकारीले भने, ‘ठाउँ मात्र ओगट्न पाइँदैन । उडान सुरू भएन भने त्यो जिम्मा खोसिन्छ।’
स्वदेशी एयरलाइन्सले भैरहवाबाट उडान सुरू गरेपछि विदेशी कम्पनीलाई पनि उडान गर्न सहज हुने उनले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्