एकजना यात्रु मात्रै लिएर उड्यो बुद्ध एअरको जहाज

कहिलेकाहीँ यात्रुले हवाइजहाजको टिकट चाहेर पनि खरिद गर्न पाउँदैनन् । अनि कहिलेकाहीँ हवाइजहाजले पनि यात्रु पाउँदैनन् ।

केही सिट खाली राखेर जहाज उड्ने कुरा नौलो होइन । तर बुद्ध एअर भने ७२ सिटको जहाज एउटा मात्रै यात्रु लिएर काठमाण्डौबाट विराटनगर उडेको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा एक व्यवसायी उद्धव पौडेल मात्रै थिए ।

उनले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । उनले लेखेका छन्, “काठमाण्डौबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।”

बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको जानकारी दिए । अहिले काठमाण्डौबाट बाहिर जाने यात्रु नभएको र काठमाण्डौ फर्कने यात्रुको भने घुइँचो रहेको उनको भनाइ छ ।