डेंगु रोग नियन्त्रणका लागि बाँसगढी नगरपालिकाको संक्रियता

रावन विश्वकर्मा, बर्दिया ।

पछिल्लो समय प्रकोपको रुपमा देखिएको डेंगु रोग नियन्त्रणका लागि बाँसगढी नगरपालिकाले संक्रियता देखाएको छ ।

एडिस नामक पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोग नियन्त्रणका लागि बाँसगढी नगरपालिकाले लामखुट्टेको बाँसस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानलाई तिव्रता दिएको छ ।

डेंगु लगायत अन्य किट जन्य रोगहरुको नियन्त्रणका लागि नगरपालिकाका सबै वडाका टोलटोलमा पुगि लार्भा नष्ट गर्ने अभियान थालिएको हो । सो अभियान अन्तर्गत आईतबार बाँसगढीको ४ र ६ नं वडाका विभिन्न स्थानहरुमा लामखुट्टेका बाँसस्थान खोजेर नष्ट गरिएको छ ।

लामखुट्टेले ‘अण्डा’ पार्न सक्ने सम्भावित स्थानहरू, पानी जम्ने ठाउँको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको बासँगढी ४ का वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले जानकारी दिए ।

अध्यक्ष बास्तोलाका अनुसार वडाका टोल टोलमा गएर लामखुट्टेको बाँसस्थान खोजी लार्भा नष्ट गर्ने अभियान नियमित रुपमा सञ्चालन गरिने छ । वडाका जनप्रतिनिधि, टोल विकास समिती, बरघर, महिला स्वास्थ्य स्वंयसेविका लगाएतको उपस्थितिमा बठुवा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख सागर थारुले डेंगु रोगको बारेमा जानकारी समेत दिएका थिए ।

त्यस्तै वाड नं ६ को वडा कार्यालय र स्वास्थ्य केन्द्र परिसर भित्र सरसफाई गरी डेंगु रोग फैल नदिनका टोल बिकास समिती, बरघर संस्थाहरुलाई आआफ्नो टोल टोलमा सचेतना कार्यक्रम गर्न र लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्न अनुरोध समेत गरिएको बाँसगढी ६ का वडा अध्यक्ष लाल बहादुर क्षेत्रीले बताए ।

हाल ६ नं वडामा पनि डेंगु रोगको जोखिम कायम रहेकाले सबैलाई सचेत रहन समेत वडा अध्यक्ष क्षेत्रीले आग्रह गरेका छन । लामो समय सम्म ज्वरो आउने, टाउको दुख्ने, मांसपेसि दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, वान्ता आउने, ग्रन्थी सुन्निने जस्ता लक्षण देखिएका छन भने स्वास्थ्य केन्द्रमा गई परिक्षण गर्न दमौली आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख गणेश थारुले अनुरोध समेत गरेका छन ।

उनले डेंगी हो होईन परिक्षण गरेर मात्र औषधी सेवन गर्न समेत अनुरोध गरे । उनका अनुसार डेंगु परिक्षणका लागि पाचँ सय रुपैया मात्र शुल्क लाग्ने छ । बाँसगढीमा हाल सम्म ४ जनामा डेंगुको संक्रमण पुष्ट भएको छ । बर्दियामा डेंगु रोगका कारण २ जनाको ज्यान गईसकेको छ ।