दुई महिनामा विदेश पढ्न जानेले लगे १२ अर्ब ७६ करोड रुपैयाँ

काठमाडौं ।
नेपालबाट विदेशमा पढ्न जान नेपालीसँगै चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्म शिक्षाका लागि सो रकम बाहिरिएको हो ।
यस आवको दुई महिनामा नेपालको कुल सेवा खातातर्फको व्यय १७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

जसमध्ये शिक्षामा मात्र १२ अर्ब ७६ करोड बाहिरिएको हो । अन्य रकम नेपालीहरुको वैदैशिक भ्रमणमा विदेशिएको हो । यस अवधिमा नेपाल आउने पर्यटकबाट भने मुलुकले ५ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको छ ।

गत आवको पहिलो दुई महिनामा भ्रमण आय ३ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । दुई महिनाको अवधिमा खुद सेवा आय १८ अर्ब ६२ करोड रुपैयाँले घाटामा रहेको छ । गत आवको यसै अवधिमा खुद सेवा आय १७ अर्ब ५२ करोड घाटामा थियो ।