बैतडीका ३१ मतदानकेन्द्र सुरक्षाका हिसाबले अतिसंवेदनशील

बैतडी ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति बैतडीले सुरक्षाका हिसाबले मतदान केन्द्रलाई वर्गीकरण गरेको छ। १२९ मतदान केन्द्र रहेको बेतडीमा ३१ मतदान केन्द्र सुरक्षाका हिसाबले अतिसंवेदनशील मतदान केन्द्र रहेका छन्।

त्यसैगरी ३४ वटा मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको छ भने बाँकी रहेका ६४ मतदान केन्द्रलाई समान्य मतदान केन्द्रको रुपमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

अतिसंवेदनशील मतदानस्थलमा पुर्चोडी नगरपालिका, डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकाका रहेका छन्।
सडक पुर्वाधार नपुगेको, सुरक्षाकर्मीको पातलो उपस्थिति रहेको र बढी राजनीतिक दलको सक्रियता हुने ठाउँहरुलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको भारतीले बताए।

यसैगरी विगतमा चुनवाको समयमा भए गरेका घटनालाई पनि आधार मानेर वर्गीकरण गरेको उनले बताए। वर्गीकरण गरिएका निर्वाचन केन्द्रलाई लक्षित गरेर सुरक्षा व्यवस्था मिलाइएको पनि जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।