काठमाडौं ।
नेपालमा इन्टरनेट सेवा प्रदायकको माध्यमबाट इन्टरनेट चलाउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदन अनुसार २०७९ को असार मसान्तम इन्टरनेट सेवा प्रदायकको माध्यमबाट इन्टरनेट चलाउने २२ लाख ३४ हजार ९२१ पुगेका छन्।
गत वर्ष २०७८ को असारमसान्तमा यस्ता ग्राहक १६ लाख ५९ हजार ३०६ थिए। एक वर्षको अवधिमा इन्टरनेट सेवा प्रदायकबाट इन्टरनेट प्रयोग गर्ने ग्राहक ५ लाख ७५ हजार ६१५ ले थपिएका छन्।
नेपालमा हाल नयाँ र पुरानी गरी ६० इन्टरनेट सेवा प्रदायकले सेवा दिइरहेका छन्। गत वर्ष यस्ता सेवा प्रदायक ४४ रहेको प्राधिकरणको प्रतिवेदनमा देखिन्छ।
निश्चित ब्रोडब्यान्ड सेवामा एउटा कनेक्सन बराबर ४.३२ जनाले इन्टरनेट प्रयोग गर्ने आधारमा प्राधिकरणले ग्राहक संख्या निकालेको हो।
प्राधिकरणको प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्म शीर्ष ५ स्थानमा रहेका इन्टरनेट सेवा प्रदायक यस्ता छन्ः
1. वर्ल्डलिंक कम्युनिकेशन्स
प्राधिकरणको प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा नेपालको सबै ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन्स रहेको छ। गत असारसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट प्रयोग गर्ने ६ लाख ६० हजार २०२ रहेका छन्। एक वर्षको अवधिमा वर्ल्डलिंक कम्युनिकेशन्सको ग्राहक १ लाख ४८ हजार ५२१ ले बढेको छ। गत वर्ष २०७८ को असारमा वर्ल्डलिंक कम्युनिकेशन्सका ग्राहक संख्या ५ लाख ११ हजार ६८१ थियो।
2. नेपाल दूरसञ्चार कम्पनी
२ लाख ९२ हजार ३४३ ग्राहक सहित नेपाल दूरसञ्चार कम्पनी दोस्रो स्थानमा छ। २०७८ को असारमा नेपाल दूरसञ्चार कम्पनीको इन्टरनेट चलाउने ग्राहक २ लाख ९० हजार २३ थिए। एक वर्षको अवधिमा नेपाल दूरसञ्चार कम्पनीको ग्राहक संख्या २ हजार ३२० मात्र बढेको छ।
3. सुविसु केबलनेट
सुविसु केबलनेट २ लाख ३६ हजार २७२ ग्राहक सहित तेस्रो स्थानमा छ। गत वर्षको असारमा सुविसु केबलनेटको ग्राहक २ लाख १० हजार ५१३ थिए। एक वर्षको अवधिमा सुविसु केबलनेटका ग्राहक २५ हजार ७५९ ले थपिएका छन्।
4. भायानेट प्रालि
भायानेट प्रालि २ लाख ३० हजार ६८८ ग्राहक सहित चौथो स्थानमा छ। २०७८ को असारमा भायोनेट प्रयोगकर्ता १ लाख ५२ हजार १३१ थिए। एक वर्षको अवधिमा भायोनेटको ग्राहक ७८ हजार ५५७ ले बढेका छन्।
5. क्लासिक टेक प्रालि
२ लाख ३० हजार ४७६ ग्राहक सहित क्लासिक टेक प्रालि पाँचौ स्थानमा छ। गत वर्ष क्लासिक टेकका ग्राहक १ लाख ५७ हजार ८८५ ग्राहक थिए। एक वर्षको अवधिमा क्लासिक टेकले आफ्नो ग्राहक ७२ हजार ५९१ ले बढाएको छ।
काेहलपुर टुडे । ३० आश्विन २०७९, आईतवार १६:४९