नेपालगञ्ज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले एमाले भित्रभित्रै नर्भस भएपनि बाहिर फुर्ती लगाइरहेको बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको चुनाव लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियानको आज बाँकेमा उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका गिरीले सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुने भएपछि एमाले भित्रभित्र नर्भस भइसकेको बताए । उनले भने-“एमाले नर्भस भइसकेको छ, तर, बाहिर बाहिर भने हामी जित्छौं भन्ने फुर्ती लगाइरहेको छ ।”
बाँकेमा केन्द्रीय प्रतिनिधि भएर खटिएका गिरीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्थानीय चुनावमा जस्तै सफलता हासिल गर्न सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरे । उनले आपसी मनमुटाव त्यागेर निर्वाचन केन्द्रित गतिविधिमा लक्षित हुन निर्देशन दिए । “केही चिसोपन छ भने त्यागौं, मनमुटाव अन्त्य गर्नुस्, पार्टीको चुनावका केही तुष छन् भने हटाउनुस्,” गिरीले भने-“अवको अर्जुनदृष्टि भनेको मंसिर ४ को निर्वाचन हुनुपर्छ ।”
उनले कांग्रेससहित सत्तारुढ दलहरु चुनावी गठबन्धनको बाटोमा अगाडि बढिसकेकाले अब पार्टी निर्णयलाई स्विकार गरेर जानुको विकल्प नभएको बताए । उनले कांग्रेसले ९० सिटसम्म पाउने अवस्था देखिएको भन्दै १६५ सिटमा एक्लै लड्ने सामथ्र्य भएको पार्टीमा नेताहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । स्थानीय चुनावको नतिजाका आधारमा पनि बाँकेमा कांग्रेसले संघको दुई वटा क्षेत्र पाउनुपर्ने अवस्था रहेको भन्दै उनले तीन वटै क्षेत्रमा कांग्रेस अगाडि रहेको यथार्थ चित्रण गरे ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश उपसभापति एवम् प्रदेश प्रतिनिधि राजु खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् प्रदेश प्रतिनिधि रिना नेपाल विक, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल, निवर्तमान सभापति किरण कोइराला, पूर्व सचिवद्वय तप्त पौडेल र कपिलदेव शर्मा, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ लगायतले बोलेका थिए ।
कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्कीले जनताको साथमा कांग्रेस अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।
नेपाली कांग्रेसले भदौ १० गतेदेखि शुरु गरेको यो अभियान २४ गतेसम्म चल्नेछ । बाँकेमा केन्द्रले गिरीलाई केन्द्रीय प्रतिनिधि खटाएको छ । यस्तै लुम्बिनी प्रदेश कमिटीले ६ वटै निर्वाचन क्षेत्रमा प्रदेश प्रतिनिधि र जिल्ला कार्यसमितिले पनि ८ वटै पालिकामा प्रतिनिधि खटाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्