एमालेमय बन्यो बाँकेको नयाँगाउँ




काेहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ मा रहेको नयाँगाउँ एमालेमय बनेको छ । गाउँका अगुवा यमराज थारुको नेतृत्वमा गाउँमा रहेका सबैजसो व्यक्ति सामूहिक निर्णय गरी बुधवार एक समारोहका बीच नेकपा (एमाले) मा प्रवेश गरेपछि नयाँगाउँ एमालेमय बनेको हो ।

नेकपा एमालेले नयाँगाउँवासीका समस्या सम्वोधन गरेकोले आफुहरु पार्टी प्रवेश गरेको उनीहरुको भनाई छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बन्नुभएका शालिकराम डाँगीले चुनावी प्रतिवद्धता अनुसार नयाँगाउँको विकासमा योजना ल्याएपछि आफुहरु एमाले प्रवेश गरेको स्थानीय श्यामा डाँगीले बताउनुभयो ।

उहाँहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकालले टिका र खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । सो समारोहमा बोल्दै नेता ढकालले राप्तीसोनारीको वडा नं. ८ र ९ को चेपुवामा परेको नयाँगाउँको विकासको लागि एमालेले  बोलेको कुरा पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले नयाँगाउँलाई आगामी ५ वर्षसम्म वजेटमा प्राथमिकता दिईने नीति अनुसार पहिलो वर्ष नै नयाँगाउँको विकासको लागि वडाबाट करिव १५ लाख वजेट विनियोजन भएको बताउदै टोलको विकास र नालामा तटवन्धको कामको अगुवाई एमालेले गर्ने उल्लेख गर्नुभयो ।

नेकपा एमाले सामाजिक एकता, शान्ति र समृदिको पक्षधर पार्टी भएकोले समाज परिवर्तन गर्दै मुलुकमै स्वरोजगार सिर्जना गर्ने र जनताको मुद्दाको सम्बोधन गर्न अग्रसर रहेको बताउनुभयो ।

नेकपा एमाले राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्ष मनोज केसीले नयाँगाउँका एकसय १ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको बताउनुभयो । नेकपा एमाले राप्तीसोनारी गाउँपालिका ८ नं. वडा कमिटी अध्यक्ष शालिकराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.९ कमिटीका अध्यक्ष सोहनलाल थारु, वडा नं. ८ का एमाले नेता हर्कबहादुर बिष्ट लगायतले बोल्नु भएको थियो ।

एमाले नयाँगाउँ टोलमा भएको भेलाले बुधवारनै यमराज थारुको नेतृत्वमा नेकपा एमाले नयाँगाउँ टोल कमिटी गठन गरेको छ । टोल कमिटीको उपाध्यक्षमा उपाध्यक्ष श्यामा डाँगी, सचिवमा अशोककुमार थारु, उपसचिवमा यादव थारु र परशुनारायण थारु चयन हुनुभएको छ । यसैगरी कमिटीको सदस्यहरुमा टेकबहादुर थारु, निमप्रसाद थारु, दिलमाया थारु, माधवी थारु, विमलानाथ थारु र रामशरण थारु रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहीबार