साहित्यकार ढकालको उपन्यास ‘बुह्रान’ आवरण सार्वजनिक




कुष्ण कुमार शाही, काेहलपुर ।

साहित्यकार महानन्द ढकालको उपन्यास ‘बुह्रान’ को आवरण सार्वजानिक भएको छ । ‘बुह्रान’ क्षेत्रमा बस्ने गरीव थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासको आवरण साङ्ग्रिला बुक्सले सार्वजानिक गरेको हो ।

उपन्यासकार ढकालका अनुसार ‘बुह्रान’ उपन्यस जातीय समानता र सहकार्यको कथा हो । जहाँ गरिव थारूहरूको सपनाले यात्रा गरेको छ । गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको ‘बुह्रान’ को कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराइका माइला थारूलाई प्रमुख पात्र बनाएर उधिनेकी छन् । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।

बसाइसराइका बाध्यता एवम् थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलह्री प्रथाबाट र्सिजित अवस्थालाई समेटिएको यस उपन्यासमा जातीय समानताका लागि अन्र्तजातीय विवाह महत्वपूर्ण हुन सक्ने कुरा औंल्याउन खोजिएको छ ।

समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणहरूको खोजी गरिएको यस उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलह्री, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिहरूको लेखाजोखा गरिएको कुरा ढकालले बताए ।

विभिन्न साहित्यिक विधाहरूमा निरन्तर कलम चलाउँदै आएका महानन्द ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित हस्ताक्षर हुन् । साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपूर्ण मानिन्छ ।

कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालका ‘खण्डित आत्मा’ गजल सङ्ग्रह (२०५८), ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल सङ्ग्रह (२०५९), ‘अव्यक्त प्रत्याशा’ गजल सङ्ग्रह (२०६३), ‘घाम उदाए’ हाइकु सङ्ग्रह (२०६८) र सिमाना मुक्तक सङ्ग्रह  (२०७७) यस पहिला नै प्रकाशित गरिसकेका ढकालकोे आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो । यो उपन्यासको आवरण कलाकार देवेन्द्र थुम्केलीले बनाएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मंगलबार