बाँसगढीमा ९ जना किसान उत्कृष्ठ कृषकको रुपमा सम्मानित

रावन विश्वकर्मा, बर्दिया ।

बर्दियाको बाँसगढीमा ९ जना किसानलाई उत्कृष्ठ कृषकको रुपमा सम्मान गरिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा बर्षभरी नै कृषि खेती गर्ने ९ जना कृषकलाई उत्कृष्ठ कृषकको रुपमा ५ हजार नगद तथा प्रमाण दिएर सम्मान गरिएको हो ।

बाँसगढी नगरपालिकामा रहेका ९ वटै वडाबाट १।१ जनालाई उत्कृष्ठ किसानलाई छनौट गरी ९ जना कृषकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरु बाँसगढी १ नं वडाबाट बाटुलेका हुम बहादुर पाण्डे, २ नं वडाबाट बनमुडुवाका सिताराम थारु, ३ नं. वडाबाट सुन्दरबस्तीका सोनु प्रसाद थारु, ४ नं.वडाबाट मनिकापुरका हिरालाल थारु, ५ नं.वडाबाट झर्सैलाका बिष्णु पौडेल रहेका छन् ।

त्यस्तै ६ नं वडाबाट सटहरियाका जन्कुराम थारु, ७ नं.वडाबाट छोट्की देउढाका रामशरण थारु, ८ नं वडाबाट भैसासुरका गुरैया थारु र ९ नं. वडाबाट माछागढका तेज बहादुर थारु रहेको बाँसगढी नगरपालिका कृषि विकास शाखाले जनाएको छ ।

धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नारा सहित १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समेत भव्यताका साथ मनाईएको छ । रोपाई महोत्सवको अवसरमा डेउढाकला साना किसान कृषि सहकारी सस्थाको ८ कट्ठा क्षेत्रफलमा धान रोपाई समेत गरिएको थियो ।