सहिद विनिता बुढाको स्मृतीमा २ लाखको छात्रवृत्ती अक्षय कोष स्थापना

शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिकामा रहेको बालकल्यान माध्यमिक विद्यालय झुल्खेतमा दुई लाखको अक्षय कोष स्थापना गरिएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ९ हिल निवासी पूर्व साँसद खडग बहादुर बुढा तथा उनकी श्रीमती जोगमाली बुढा मगरद्वारा आफ्नी छोरी विनिता बुढा मगरको स्मृतीमा दुई लाख रकमको अक्षय कोषको स्थापना गरेका छन् ।

यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष गम्मर सिंह बोहराको अध्यक्षतामा भएको समारोहमा उक्त कोषको लागि सहिदकी आमा जोगमाली बुढाले नगद रकम विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । सहिद प्रतिको सम्झनामा सहिदको फोटोमा अविर आवरण र माल्यार्पन गरिएको थियो ।

उक्त अक्षय कोषको बर्सेनि रूपमा आउने व्याजबाट यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधामा पुरस्कार वितरण गरिने प्रअ गोविन्द बहादुर ओलीले बताए ।

शिक्षक टोप बहादुर हमालको सञ्चालन, सहिदकी आमा जोगमाली बुढा, सहिदकी हजुर आमा पवित्रा पुन, सहिद कामी बुढाकी छोरी मोतीकला पुन, विव्यस सदस्य पयकला पुन र भुपू विव्यस अध्यक्ष नन्दराम पुनको आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

को हुन् सहिद विनिता बुढा ?

२०३७ साल चैत्र १२ गते साविक चौखावाङ ५ हिलमा जन्मनु भएकी विनिता बुढा मा बि झुल्खेतबाट एस.एल.सी. परीक्षा दिएकी थिइन् ।

अखिल क्रान्तिकारीमा संगठित भई संगठनको कामको शिलसिलामा चुन्वाङ गएको बेला २०५५ साल जेठ २७ गते चुन्वाङ प्रहरी चौकीमा किलोसेरा टु-अप्रेसनमा खटिएको तत्कालिन दंगा प्रहरीले घेरा हालि नियन्त्रणमा लिई उनको हत्या गरेको थियो ।