प्रबन्धक हेमन्त वलीले सहकारीकाे ३५ लाख हिनामिना गरेको आरोप, आरोप लागेपछि वली फरार

सञ्चालक समितिको बैठकमा सहकारीका प्रबन्धक हेमन्त वलीले पैसा लिएको स्वीकारेका थिए ।

शुदाम शर्मा, सल्यान ।

सल्यानको दार्मा गाउँपालिकामा महिला साना किसान सहकारी संस्थाका प्रबन्धक हेमन्त वलीलाई ३५ लाख रुपैया हिनामिना गरेको आरोप लगाएका छन् ।

दार्मा गाउँपालिका वडा नम्बर ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लि.को २०७९ जेठ २६ गते बसेको सञ्चालक समितिको बैंठकमा प्रबन्धक हेमन्त वलीले पैसा हिनामिना गरेको स्वीकारेका थिए ।

संस्थाकी अध्यक्ष हरिकला मल्लले हेमन्त वलीले सहकारीको ३५ लाख रुपियाँ हिनामिना गरेको २०७९ जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा स्विकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेको भोलिपल्टदेखि सम्पर्क बिहिन भएको बताइन् । अध्यक्ष मल्लका अनुसार जेठ ३० गतेका दिन फोन सम्पर्क गर्दा बैठक बसाउँदै गर्नु म पैसा लिएर आउँदैछु, भनेका उनी फोन स्विच अफ गरेर बेपत्ता भएका थिए ।

‘१ हप्तासम्म सहकारी र परिवारले खोजी गर्दा पनि कुनै सम्पर्क नभएपछि सहकारीले इलाका प्रहरी कार्यालय दार्मा ३ फारुलामा निजलाई खोजी गरिदिन निवेदन दिएका छौं,’ ‘अहिलेसम्म सहकारी र परिवारको सम्पर्कमा नआएकोले २०७९ असार १४ गते बसेको सञ्चालक समितिको पूर्ण बैठकले गाउँपालिका, वडा कार्यालय, साना किसान बैंक र निजको परिवारको समेत उपस्थितिमा तपसिल बमोजिम कारवाहीको पक्रिया अघि वढाउन निर्णय गरिसकेका छौं’ उनले भनीन्, ।