निर्णय सच्चाउन बाँकेका दुग्ध व्यवसायीहरुले अर्थमन्त्री खड्कालाई बुझाए ज्ञापन पत्र

काेहलपुर ।

बाँके जिल्लामा रहेको दुग्ध व्यवयासी संघले निर्णय सच्याउन लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।

२० प्रतिशत भन्दा बढि उत्पादन भएका किसानहरुलाई मात्र अनुदान उपलब्ध गराउने भनी निर्णय भएकोले सो निर्णय विरुद्ध बाँकेका दुग्ध व्यसायीहरुले मन्त्री खड्कालाई सोमबार ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउँदै दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दिपक राज भण्डारीले मन्त्रालयले गरेको निर्णयलाई सच्याउनका लागि दवाव दिनका लागि ज्ञापन पत्र बुझाएको बताए ।

‘कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयबाट आर्थिक वर्ष २०७७/०७८ मा स्वीकृत अनुदान अनुसार प्रतिलिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउदै आएको थियो, उनले भने, ‘आर्थिक वर्ष २०७८/०७९ मा उत्पादन ५ प्रतिशत बृद्धि भएपनि अनुदान रकम दिएको छैन ।’

कोभिडको कारण किसानले उत्पादन वृद्धि गर्न नसकेको अवस्थामा सरकारले एक्कासी २० प्रतिशत उत्पादन वृद्धि गरेकोलाई मात्रै अनुदान दिने गरी निर्णय गलत भएको भण्डारीले बताए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री खड्काले क्याविनेटको बैंठकबाट किसानै पक्षमा निर्णय हुने आश्वासन दिएका थिए ।

यस्तै बाँके क्षेत्र नम्बर ३ ‘क’ र ‘ख’ बाट निर्वाचित सांसद बाबुराम गौतम, आइपी खरेल र दुग्ध व्यवसायी संघ बाँकेका सचिव दिपक कार्कीको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको थियो ।