मानव वेचविखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघसंस्थाबिच सहमति

काेहलपुर ।

नेपाल भारतको खुला सीमानाका कारण मानव वेचविखन बढ्दै गएको ठहर गरेर आपसी समन्वयमा सो रोक्न दुबै देशका सम्बद्ध निकायहरु सहमत भएका छन् । मानव वेचविखन नियन्त्रणका लागि छलफल गरेर निष्कर्ष निकाल्न भारतको बहराईचमा बिहिबार आयोजना गरिएको बैठकमा दुवै देशका सम्बद्ध निकायहरु बिच सो सहमति बनेको हो ।

प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा भारतको देहात संस्थाको समन्वयमा आयोजित सो बैठकमा सहभागी दुबै देशका सुरक्षा अधिकारी, मानव वेचविखन विरुद्ध कार्यरत संघ संस्था र पत्रकारले मानव वेचविखन नियन्त्रणका लागि संयुक्त कार्यक्रम बनाएर एकताबद्ध भै काम गर्नु पर्नेमा विशेष जोड दिएका छन् ।

सो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै सहभागि हुनुभएका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले मानव वेचविखन नियन्त्रणका लागि दुबै देशका उच्च सुरक्षा अधिकारी बिच समय समयमा समन्वय र छलफल हुँदै आएको बताए । उनले सो रोक्न दुबै देशका अधिकारीहरु गम्भीर भएको पनि प्रष्ट पारे ।

भारतीय टोलीको नेतृत्व गर्नु भएका एसएसबीका अधिकारी हंसराजले भारतीय सुरक्षाकर्मीले मानव वेचविखन कार्यमा संलग्न धेरैलाई पक्राउ गरेर नेपाललाई बुझाएपनि सबैलाई कारबाही नहुने गरेको गुनासो गरे । उनले कानुनी रुपमा कडाई गरेर गलत कार्यमा लाग्नेलाई कडा कारवाही गरे मात्रै गैर कानुनी काम गर्नेहरुमा डर उत्पन्न हुने बताए ।

बैठकमा बोल्दै देहात संस्था भारतका निर्देशक दिब्यानी सिंहले मानव वेचविखनमा संलग्नलाई कडा कारबाही नगरेसम्म नियन्त्रणमा सफलता नमिल्ने बताए । अबदेखि नियमित छलफल, बैठक हुनुपर्ने र उद्धार गरिएकाहरुको ताजा अवस्थाको बारेमा पनि सही जानकारी राखिनुपर्नेमा उनले जोड दिइन् ।

सो बैठकमा राष्टिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जका अधिकृत नारायण बस्नेत, साथी संस्थाका टिका शर्मा, जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई अनुरुप यरी, जमुनाहा प्रहरी कार्यालयका सहायक प्रमुख कुल बहादुर विक, वडा प्रहरी कार्यालय, महिला सेल लगायत भारतको चाइल्ड वेलफेयर कमिटिका सदस्य नौनित मिश्रा, भारतीय प्रहरी र एसएसबीका अधिकारीहरुको सहभागिता रहेको थियो ।

बैठकले यस्ता छलफल र बैठकलाई निरन्तरता दिनुपर्ने, संयुक्त कार्यक्रम र योजना बनाएर अगाडि बढ्नु पर्ने, नाकामा कडाइ गर्नुपर्ने र पक्राउ परेकालाई कडा कारबाही गर्नुपर्ने कुरामा जोडदिने निर्णय गरेको छ । बैठकको सहजीकरण बाँके युनेस्को क्लबका सहायक कार्यकारी निर्देशक साजिद अली सिद्दिकीले गरे भने क्लबका वरिष्ठ कर्मचारीहरु महेश नेपाली, ईरशाद राई र विनिता आरसी लगायतको पनि उपस्थिति रहेको थियो ।