विद्यालय र कलेज स्तरीय सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक सचेतना कार्यक्रम

कोहलपुर ।

सडक दुर्घटना न्यूनीकरण गर्न बाँकेको कोहलपुर नगरपालिकाले विद्यालय र कलेज स्तरीय सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

सोमबार एक औपचारीक कार्यक्रम गरी कोहलपुर १४ मा स्थित राम माध्यमिक विद्यालयका कक्षा ९ र १० का बालबालिकाहरुलाई विद्यालय र कलेज स्तरीय सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक सचेतना कार्यक्रम गरिएको थियो ।

समाज सेवा संस्था केन्द्रिय कार्यालय हवल्दापुरको आयोजना, कोहलपुर नगरपालिकाको सहकार्य र जिल्ला ट्राफिक कार्यालय बाँकेको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले बताए ।

बालबालिकाहरुलाई सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका लागि बालबालिकाहरुलाई जानकारी गराएका थिए ।

विभिन्न चरण पास गरेर लाइसेन्स लिए पनि मानवीय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानव नै जिम्मेबार बन्नुपर्नेमा आचार्यको जोड थियो । सचेतना कार्यक्रममा बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक निरिक्षक सुदिप हमालले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक प्रस्तुति राखेका थिए ।

यस्तै समाज सेवा संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाले बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले सहयोग पुग्ने बताए । सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट नहुने भएकाले कोहलपुर नगरपालिकाले सडक दुर्घटना न्यूनिकरण गर्न ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा कोहलपुर वडा नम्बर १४ का अध्यक्ष नम बहादुर आले, सामाजिक विकास समिति सयोजक ईश्वरी विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल र राम मावि विद्यालयका प्राधानाध्यापक जितेन्द्र यादव लगायत १ सय ५० बढि विद्यार्थीहरुको सहभागि रहेको थियो ।