देश विकासका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य : सभामुख शाही

तस्बिर : IT विज्ञ देव भट्ट

सुदाम शर्मा, कर्णाली प्रदेश ।

नेपाल सरकारको पूर्ण लगानीमा सञ्चालित मध्यपश्चिम विश्वविद्यालय स्थापनाको आज ठीक १२ वर्ष पूरा भएको छ । स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै शैक्षिक उन्नयन एवं पूर्वाधार विकासको गति पछ्याइरहेको विश्वविद्यालयले शुक्रबार एक समारोहका बीच १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको हो ।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेत स्थित सीटी हलमा आयोजित समारोहलाई प्रमुख अतिथिका हैसियतबाट सम्बोधन गर्दै कर्णाली प्रदेशसभाका माननीय सभामुख राजबहादुर शाहीले शिक्षा क्षेत्रको विकास विना देशको विकास असम्भव रहेको बताए ।

उनले समृद्धिको साधकका रूपमा रहेको शिक्षा क्षेत्र सँधैभर राज्यको प्राथमिक दायित्वभित्र पर्नुपर्नेमा जोड दिए । समारोहका अध्यक्ष समेत रहेका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले आफ्नो नेतृत्वमा विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत शेरबहादुर केसीले गरे । संघीय संसदले २०६७ साल असार ३ गते मध्यपश्चिम विश्वविद्यालय ऐन जारी गरेको स्मरण स्वरूप हरेक वर्ष यस दिन विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउने गरिन्छ ।