रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकाको दोस्रो बैठक

सुदाम शर्मा । रुकुम (पश्चिम)

रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकाको दोस्रो बैठक यहि असार ३ गते शुक्रबार सम्पन्न भएको छ ।

बैठकले नगर कार्यपालिका अन्तर्गतका सबै बिषयगत समितिको पुर्नगठन गरेको छ । त्यसैगरि बैठकले आगामी असार १७ गते पहिलो नगर सभा गर्ने र त्यसको तयारीका लागि असार १५ गते पुनः नगर कार्यपालिकाको बैठक बस्ने निर्णय गरेको छ ।

नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा सम्पन्न बैठकले आ.ब. २०७९।०८० को नीति तथा कार्यक्रम र बजेटको तयारी गर्न बिभिन्न बिषयगत समिति र शाखाहरुलाई समिति र शाखाको तर्फबाट योजना तथा कार्यक्रम माग गर्ने, नगरपालिकाको आवधिक योजना निर्माण गर्ने र आवधिक योजना र बजेटको बिचमा तादम्यता कायम गर्न मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने समेत निर्णय गरेको छ ।

बैठकले बर्षातको समयमा नगर क्षेत्रका सडकहरुको नियमित आवागमन र सुचारु गर्नका लागि आवश्यक प्रबन्ध सहितको तयारी गर्ने, नगर क्षेत्रभित्रका सडकका नाली र बजार क्षेत्रको सरसफाईका लागि आवश्यक रकमको ब्यबस्था गर्ने लगायतका निर्णय गर्नुका साथै नगरपालिकाको प्रबक्ता समेत तोकेको छ ।

नगरपालिकाको सभाहल सेरीगाउँमा सम्पन्न बैठकमा उप प्रमुख बिमल कुमार पुन र १४ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । बैठकको सञ्चालन कार्यपालिकाका सचिव एबं प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुनले गर्नु भएको थियो ।