युवाहरूले अब विकासका लागि संघर्ष गर्नुपर्छ : खेलकुदमन्त्री गहतराज

काठमाडौँ  ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अब युवाहरूले देश विकासका लागि संघर्ष गर्नुपर्ने बताएका छन् । देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यसभन्दा अगाडिको युवा पुस्ताले संघर्ष गरेर नयाँ व्यवस्था ल्याएको स्मरण गराउँदै अब युवाले देश विकासका लागि संघर्ष गर्नुपर्ने बताएका हुन् ।

तर युवाहरु नयाँ राजनीतिक व्यवस्थाका लागि लड्न आवश्यक नरहेको उनको दाबी छ । शनिबार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एसिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरुको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् ।

मन्त्री गहतराजले नेपाल प्राकृतिक श्रोतको धनी देश भएको उल्लेख गर्दै प्राकृतिक श्रोत र साधनको हिसावले नेपाल समृद्ध रहेको बताए । तर युवाहरुले सपना देख्दा र नयाँ सोच राख्दा देशलाई अघि बढाउन सकिने संकल्प गर्नुपर्ने पनि उनको भनाइ थियो ।

उनले भनेका छन्, ‘हामीले एउटा ठूलो संघर्ष गरेर हामीले आफैं मालिक हुने व्यवस्था ल्याएका छौं । अब तपाइँहरू राजनीतिक नयाँ व्यवस्थाको लागि लड्नु पर्दैन । संघर्ष गर्नुपर्दैन । तपाइँहरूले देश बनाउन, देशलाई सुखी, समृद्ध बनाउनको लागि, विकसित बनाउनको लागि मात्रै संघर्ष गर्नुपर्ने अवस्था छ । कुनै राजनीतिक नयाँ प्रणालीको लागि लडिरहनु पर्दैन । त्यसैले युवाहरुले यतिबेला नयाँ ढंगले नयाँ सोचका साथ अघि बढ्नुपर्छ।’

यस्तै उनले नेपालमा युवा बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नु ठूलो चुनौती रहेको पनि बताएका थिए । युवा जनशक्तिलाई रोक्नकै लागि सरकारले देशमा केही ठूला दीर्घकालीन रणनीतिक महत्त्वका परियोजना ल्याउन लागेको घोषणा गरेका छन् ।

Ekantipur.comबाट साभार