बाघको आक्रमणबाट ३० जनाको मृत्यु

File Photo

काेहलपुर ।

बाँके, बर्दिया र कैलालीमा ५ वर्षको अवधिमा बाघको आक्रमणबाट ३० जनाले ज्यान गुमाएका छन् । २०७६ यता बाघको आक्रमणबाट ३० जनाले ज्यान गुमाएका हुन् ।

सबैभन्दा बढी बर्दियामा २३, बाँकेमा ६ र कैलालीमा एक जनाको मृत्यु भएको हो । पछिल्लो समय बर्दियामा बाघको संख्यामा उल्लेखनीय वृद्धि भएसँगै आक्रमणका घटना पनि बढेका छन् ।

सन् २००९ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १८ वटा बाघ पाइएकामा २०१८ मा उक्त संख्या ८७ पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघको आक्रमण बढेसँगै यो समस्यालाई समग्र रूपमै सम्बोधन गर्ने प्रयास गरिरहेको बताए ।

पछिल्लो तीन वर्षमा पाँच वटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइएको छ भने एउटामा स्याटेलाइट कलर जडान गरिसकिएको छ । श्रेष्ठका अनुसार स्थानीय सरकारसँग मिलेर निकुञ्ज र बस्तीबीचमा तारजाली गरिँदै आएको छ । बाघ संरक्षणमा उल्लेखनीय योगदान पुर्याएकोमा बर्दिया राष्ट्रिय निकुञ्जले यस वर्ष ‘टी एक्स टु’ पुरस्कार पाउँदै छ, नजिकैको खाता करिडोर पनि त्यसैगरी पुरस्कृत हुँदै छ ।

यस्ता उपलब्धिमा निकुञ्ज आसपासका जनताको जीवनको मूल्य जोडिएको छ । त्यसैले वन्यजन्तु संरक्षणको कार्यक्रमको केन्द्रमा जनजीविकालाई राख्न विज्ञहरुको सुझाव छ ।

सदरलाइनबाटसाभार