रावन विश्वकर्मा ।
बर्दिया बाँसगढी नगरपालिकाको ३ नं वडामा सचिव नहुँदा सेवाग्राही मर्कामा परेका छन् । विगत तिन महिनादेखि वडामा सचिव नहुँदा सेवाग्राहीहरुले सास्ती भोग्दै आएका छन् । वडा सचिव नहुँदा एक दिनमा हुने कामका लागि अर्को दिन आउनुपर्ने बाध्यता रहेको सेवा ग्राहीहरुको गुनासो छ । सचिव नहुँदा सचिवको हस्ताक्षर बाहेक सचिवले गर्ने अन्य काम सामाजिक परिचालकले गर्नुपर्ने बाध्यता छ ।
वडा कार्यालयमा हाल सामाजिक परिचालक र कार्यालय सहयोगी मात्रै छन् । वडामा सचिव नहुँदा २ नं वडाका सचिव हर्क बहादुर घर्तिले नै २ र ३ वडाको सचिवको काम सम्हाल्नु पर्ने बाध्यता छ । एउटै सचिवले २ वडा वडाको काम भ्याउनुपर्ने भएकाले सेवाग्राहीसँगै वडा कार्यालयको दैनिक काममा पनि प्रत्यक्ष असर पर्ने गरेको वडा सचिव घर्तिको भनाई छ ।
घर्तिले दैनिक कार्यालय समयदेखि दिउसो २ बजे सम्म २ नं वडा र त्यस पछिको बाँकी समय ३ नं वडा कार्यालयमा आएर सेवा दिदै आएको बताउनुभयो । कुनै दिन २ नं वडामा कामको चाप बढे ३ नं वडाको काम भ्यान नसकिने अवस्था पनि आउने घर्तिले बताउनुभयो । ३ नं वडा अध्यक्ष रामचन्द्र थारुले वडामा सचिव नहुँदा सेवा प्रभाहमा समस्या भईरहेको बताउनुभयो ।
अध्यक्ष थारुले कार्यालयमा सचिव पठाउन जेठ ९ गते बैठक बसी लिखित निर्णय गरी बाँसगढी नगरपालिकाको कार्यालयलाई पठाएको र मौखिम रुपमा पनि नगर प्रमुखलाई जानकारी गराएको बताउनुभयोे । उता बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले भने कर्मचारीको अभावले तत्काल कर्मचारी पठाउन नसकिएको बताउनुभयो । वडा अध्यक्षसंग मौखिक कुरा भएको तर वडा कार्यालयले निर्णय गरि पठाएको कुनै जानकारीमा नआएको नगर प्रमुख खड्काको भनाई छ ।
नगर प्रमुख खड्काले वडा कार्यालयमा छिटै कर्मचारी पठाउने प्रयत्न गरिने समेत बताउनुभयो । जन्मदर्ता, मृत्युदर्ता लगायतका कागजातमा वडा सचिवको अनिवार्य हस्ताक्षर चाहिन्छ । कति सेवाग्राही सचिवको प्रतिक्षामा बस्छन् त कति सचिव भएकै ठाँउमा पुगि हस्ताक्षर गराउने गरेका छन् । ३ नं वडा र २ नं वडाको झण्डै ५ किलोमिटरको दुरी छ ।
बाँसगढी नगरपालिका ३ नं वडा सचिव शंकर विक न्याय सेवा सरकारी वकिल समुह शाखा अधिकृतमा सिफारिस भएपछि बाँसगढी नगरपालिका लेखा परिक्षण शाखाका आन्तरिक लेखा परिक्षक यज्ञ बहादुर पौडेलले गएको फागुन महिनादेखि वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । तर फागुन १२ गते जन्मदर्ताको बिषयलाई लिएर भएको बिवाद पश्चात उनी अहिले वडा कार्यालयमा छैन्न । वडा कार्यालय फागुन १३ गते देखि नै वडा सचिव विहिन छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्