बाँसगढीका जनप्रतिनिधिलाई उद्योग वाणिज्य सँघको सम्मान

रावन विश्वकर्मा ।

बर्दियाको बाँसगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई उद्योग वाणिज्य संघले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका विच बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाले जनप्रतिनिधीहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष रामसिङ थारुले नगर प्रमुख खडक बहादुर खड्का, उपप्रमुख ईन्दिरा चौधरी, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई बधाई तथा सम्मान गर्नुभएको थियो ।

जनप्रतिनिधीलाई सम्मान गर्दै बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष थारुले बाँसगढी बजारलाई सुन्दर र उत्कृष्ठ बजारको रुपमा विकास गर्न “हरियाली बाँसगढी, सफा बाँसगढी” अभियान सञ्चालनका लागि नगरपालिका सँग समन्वय गर्ने बताउनु भयो । थारुले बाँसगढी बजारको ढल व्यवस्थापन, बाँसगढी नगरपालिकाको बजारिकरणका लागि कोशेली घरको निर्माण, घुमन्ते व्यापारीहरुलाई करको दायरामा ल्याउन पहल गर्ने लगायतका मागहरु जनप्रतिनिधी समक्ष राख्नु भएको थियो । नगर प्रमुख खडक बहादुर खड्काले नगरको आन्तरिक काय बृद्धि सँगै क्षमता अभिबृद्धिका कार्यक्रमका लागि व्यवसायिक संगठनहरु सँग सहकार्य गरिने बताउनु भयो ।

बाँसगढीको समग्र विकासका लागि सबैको भुमिका रहनेमा जोड दिदै बाँसगढी उद्योग वाणिज्य संग पनि समन्वयकारी भुमिका रहने नगर प्रमुखको भनाई थियो । कार्यक्रममा सहभागि जनप्रतिनिधीहरुलाई संघका बरिष्ठ उपाध्यक्ष बद्री बरालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव युगपति पौडेलले गर्नुभएको थियो ।