घट्यो खेलकुदको बजेट




काठमाडौँ ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का लागि आउँदो आर्थिक वर्षका लागि २ अर्ब ९ करोड रुपैयाँको बजेट छुट्याइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै खेलकुदका लागि २ अर्ब ९ करोड रुपैयाँको बजेट छुट्याइएको बताएका हुन् । जसमध्ये खेल पूर्वधार तर्फ ८७ करोड विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १९ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट छुट्याइएको शर्माले बताए । साथै १० औ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणका लागि आवश्यक बजेट समेत छुट्याएको छ ।

खेलकुद पर्यटन विकासका लागि साहसिक तथा पर्वतीय खेलकुदको पूर्वाधारका लागि निर्माण तथा संचालनका लागि प्रोत्साहण गर्ने योजना अघि सारिएको छ । जुम्ला जिल्लामा हाइअल्टीच्यूड स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरका लागि आवश्यक रकम विनियोजन गरेको छ ।

सरकारले मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्नका लागि आवश्यक बजेट छुट्याएको छ ।

त्रिवि क्रिकेट मैदानमा रात्रीकालिन खेल आयोजनाका लागि स्तरउन्नतिका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

एक स्थानिय तह एक खेलमैदान कार्यक्रमलाई निरन्तरता दिइनुका साथै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा मैदान निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।
निजि क्षेत्रलाई खेलकुद विश्वविद्यालय खोल्नका लागि प्रोत्साहन गरिने भएको छ ।

विदेशी क्लबलाई नेपालमा फ्रेन्चाइज्ड लिग आयोजनाका लागि वातावरण निर्माण गरिने तथा खेलकुद संस्थाहरुको संस्थागत विकासका लागि प्रतियोगितामा आयोजनामा संघहरुको भूमिका प्रभावकारी बनाइने योजना रहेको छ ।

खेलाडी तथा प्रशिक्षकको क्षमता वृद्धिका लागि कार्यक्रम संचालन गरिने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको बिमा गरिनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार