तारा एयरको सम्पर्कविहीन विमान खोजीकार्य तिव्र बनाउन गृहमन्त्रीको निर्देशन

काेहलपुर ।

गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तिव्रता दिन निर्देशन दएका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क विहिन बनेको थियो । लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए । जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङबाट उडिसकेको बताइएको छ । काठमाडौंँबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए ।

सम्पर्क विहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना सवार थिए ।