नेपालगन्जमा तीन दिने वेष्टर्न ट्राभल मार्ट सञ्चालन

काेहलपुर ।

पश्चिम नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपालगन्जमा तीन दिने वेष्टर्न ट्राभल मार्ट सञ्चालन भएको छ । सीमावर्ती भारतीय सहरका टुर अपरेटर र नेपाली ट्राभल व्यवसायीका बीच टुर प्याकेजहरुको आदान प्रदान गराई पर्यटन पर्वद्धन गर्ने उद्देश्यले ट्राभल मार्ट’ संचालन गरिएको हो ।

नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानरपालिका र नाट्टा च्याप्टर बाँकेको आयोजनामा नेपालगन्जको कारकाँदोस्थित होटल सिदार्थ भ्युमा संचालित मार्टको विहिबार राउटे मुखिया सूर्यनारायण शाहीले उद्घाटन गरे ।

उद्घाटन समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणा, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, भारतीय व्यवसायी अनुज सिंघल, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाई र नाट्टा नेपालगन्जका अध्यक्ष एवम ‘वेष्टर्न ट्राभल मार्ट’ संचालक समितिका संयोजक श्रीराम सीग्देलले पश्चिम तराईका पर्यटकीय गन्तब्यहरुको सम्भावनाका बारेमा आफ्नो धारणा राखेका थिए ।

फागुन २८ गतेसम्म संचालन हुने मार्टमा भारतीय सिमावर्ती सहरका ५० बढी टूर अपरेटर र सञ्चारकर्मीहरुको मार्टमा सहभागिता रहेको छ भने होटल ब्यबसायी तथा पर्यटन सेवाप्रदायकहरुको उल्लेख्य सहभागिता रहेको छ ।

मार्टले पर्यटन प्रर्वद्धनका साथै सातै प्रदेशका पर्यटन व्यवसायी र भारतीय टुर अपरेटरहरु बीच टुर प्याकेजहरुको आदान प्रदान गर्न मद्यत पुग्ने छ । यहाँ आएका पाहुनाहरुलाई बाँके, बर्दिया र कर्णाली प्रदेशमा रहेका पर्यटन क्षेत्रको भ्रमण गराईने योजना रहेको आयोजकले जनाएको छ ।