Kohalpur Today Header Ads

विद्यालयभित्रै सुर्तीको व्यापार ! व्यवस्थापन समिति सदस्यकै क्यान्टिनमा कारोबार




डिल्ली शाही, कोहलपुर । विद्यार्थीलाई शिक्षा, अनुशासन र स्वस्थ जीवनशैली सिकाउने विद्यालयभित्रै सुर्तीजन्य पदार्थको कारोबार भइरहेको तथ्य बाहिर आएको छ । कोहलपुर नगरपालिका–३ मैटहवास्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिमा रहेकी लक्ष्मी डाँगीले विद्यालयले भाडामा दिएको क्यान्टिनमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्दै आएको पाइएको हो ।

विद्यार्थीलाई खाजा खुवाउने जिम्मेवारीसमेत पाएकी डाँगीले उक्त क्यान्टिनमा सुर्तीजन्य पदार्थ बिक्री भइरहेको गुनासो आएपछि कोहलपुर नगर प्रहरी र वडा नम्बर ३ का अध्यक्ष माधव रिजालको टोलीले संयुक्त रूपमा अनुगमन गरेको थियो ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

उता विद्यालयका प्रअ चन्द्र बहादुर खत्रीलाई आफुलाई विक्रि वितरण गरेको विषय जानकारी नभएको बताए । कोहलपुर टुडेसंग कुराकानी गर्दै उनले भने ‘लुकिछिपि विक्रि वितरण भएको रहेछ, हामीलाई थाहा भएन’ उनको यो जवाफ कतिको जायज हुन्छ भन्ने अब नैतिक प्रश्न चिन्ह खडा गरेको छ ।

उनकै विव्यस सदस्य समेत रहेकी र विद्यालयकै परिसरमा क्यान्टिन सञ्चालन गरिरहेको अवस्थामा के हुन्छ र के भइरहेको छ भन्ने समेत थाहा नपाउनेले विद्यालयको भविष्यको बारेमा के चिन्ता लिएका होलान भन्ने कडा प्रश्न चिन्ह उब्जिएको छ ।

कोहलपुर नगरपालिका वडा अध्यक्ष माधव रिजालले क्यान्टिनमा सुर्तीजन्य पदार्थ बिक्री गरिरहेको कानुनी विपरित भएको बताउँछन् । विद्यालयको क्यान्टिन विद्यार्थीका लागि खाजा तथा आवश्यक खाद्य सामग्री उपलब्ध गराउने सुरक्षित स्थान हुनुपर्नेमा त्यही स्थानबाट सुर्तीजन्य पदार्थ बिक्री हुनु आफैंमा गम्भीर विषय भएको उनको भनाई छ ।

क्यान्टिन सञ्चालन गर्ने व्यक्ति विद्यालय व्यवस्थापन समितिमै रहेकी लक्ष्मी डाँगी हुन् । विद्यालयको नीति, अनुशासन, विद्यार्थीको हित र विद्यालयको समग्र व्यवस्थापनमा भूमिका खेल्ने जिम्मेवारीमा रहेको व्यक्तिले विद्यालयकै क्यान्टिनमा सुर्तीजन्य पदार्थ बिक्री गरेको भेटिएपछि विद्यालयभित्रको अनुगमन, नियमन र जवाफदेहितामाथि प्रश्न उठेको छ ।

क्यान्टिनबाट विद्यार्थीलाई खाजा खुवाउने जिम्मेवारीसमेत रहेको अवस्थामा खाजाको गुणस्तर तथा व्यवस्थापनबारे विभिन्न गुनासा समेत आउने गरेको स्थानियहरुले बताएका छन् ।

विद्यार्थीलाई स्वस्थ र सुरक्षित खाजा उपलब्ध गराउनुपर्ने क्यान्टिनमा एकातिर खाजाको विषयमा गुनासा आउनु र अर्कोतर्फ त्यहीँ सुर्तीजन्य पदार्थको बिक्री भइरहेको भेटिनुले क्यान्टिन सञ्चालन प्रक्रियामाथि थप गम्भीर प्रश्न खडा गरेको छ।

यो घटना कुनै सामान्य क्यान्टिन विवाद मात्र होइन । केही वर्षअघि यही विद्यालय क्षेत्रलाई सुर्ती तथा मदिराजन्य पदार्थबाट मुक्त बनाउने विषयमा आवाज उठेको थियो । कोहलपुर नगरपालिकाले समेत विद्यालयको हाताभित्र तथा वरिपरि ५० मिटरसम्म सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्रीमा रोक लगाउने नीति अघि सारेको कोहलपुर टुडे डटकमले कोहलपुर नगरपालिका : विद्यालय क्षेत्रको ५० मिटर वरीपरी मदिरा र सुर्ती बेच्न नपाउने समाचार प्रकाशित गरेको थियो ।

नगरपालिकाले विद्यालय क्षेत्रलाई लक्षित गर्दै अनुगमन तथा नियन्त्रणका लागि नगर प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने प्रतिबद्धतासमेत जनाएको थियो ।

त्यसै पृष्ठभूमिमा अहिले विद्यालयको बाहिर होइन, विद्यार्थीको प्रत्यक्ष पहुँच हुने विद्यालयकै क्यान्टिनमा सुर्तीजन्य पदार्थ बिक्री भइरहेको भेटिनुले नगरपालिकाको नीति कार्यान्वयनमाथि नै प्रश्न उठाएको छ । केही वर्षअघि विद्यालय क्षेत्र वरिपरिका सुर्ती तथा मदिराका पसल हटाउनुपर्ने विषयमा सार्वजनिक रूपमा आवाज उठेको अवस्थामा अहिले विद्यालयभित्रै यस्तो कारोबार भेटिनु विडम्बनापूर्ण देखिएको छ ।

गुनासो आएपछि मात्र नगर प्रहरी र वडा अध्यक्षको टोली पुगेर सुर्तीजन्य पदार्थ बिक्री भइरहेको फेला पार्नुले यसअघि विद्यालयभित्रको नियमित अनुगमन कस्तो थियो भन्ने प्रश्न पनि जन्माएको छ ।

यदि नियमित अनुगमन भएको भए यस्तो गतिविधि लामो समयसम्म कसरी चल्यो ? यदि अनुगमन नै भएको थिएन भने विद्यार्थीको स्वास्थ्य र सुरक्षासँग जोडिएको क्यान्टिनप्रति विद्यालय अनुगमन संयोजक समेत रहेकी कोहलपुर नगरपालिकाकाकी उपप्रमुख संगिता सुवदीकोको जिम्मेवारी कहाँ थियो ? उनकै प्रमुख अतिथिमा २०८२ भदौ १८ गते कोहलपुर नगरपालिकामा ८८ वटा विद्यालयले ५० मिटर वरीपरी मदिरा, सुर्तीजन्य पदार्थ, विक्रि वितरण गर्ने नपाउने गरी काम सुरु गरेको थियो । यो विषयमा उपप्रमुख सुवेदीसंग टेलिफोन गर्दा फोन उठेन ।

विद्यालय बालबालिकालाई ज्ञान र संस्कार दिने थलो हो । त्यही विद्यालयभित्र विद्यार्थीको पहुँच हुने क्यान्टिनमा सुर्तीजन्य पदार्थ बिक्री हुनु र त्यसको जिम्मेवारीमा विद्यालय व्यवस्थापन समितिकै सदस्य रहनु सामान्य विषयका रूपमा लिन सकिँदैन । अझ नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थबाट सुरक्षित बनाउने नीति सार्वजनिक गरिसकेको अवस्थामा आफ्नै विद्यालयमा यस्तो गतिविधि भेटिनुले नीति र कार्यान्वयनबीचको दूरीसमेत देखाएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार