कोहलपुर । बाँकेको कोहलपुरमा पहिलोपटक छेलो हान्ने प्रतियोगिता आयोजना गरिएको छ । परम्परागत तथा मौलिक खेलको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामाझ यसको पहिचान स्थापित गर्ने उद्देश्यले कोहलपुर नगरपालिका–९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीको व्यक्तिगत पहलमा प्रतियोगिता आयोजना गरिएको हो ।
कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उदघाटन गर्दै सुरुवात भएको थियो ।
प्रतियोगितामा सहभागी खेलाडीमध्ये धिरेन्द्र विष्टले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । चित्र विक द्वितीय, गोविन्द केसी तृतीय तथा शिशिर देवकोटाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने विष्टलाई नगद ५ हजार रुपैयाँ, द्वितीय हुने विकलाई ३ हजार रुपैयाँ, तृतीय हुने केसीलाई २ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने देवकोटालाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
नगर प्रमुख आचार्यले छेलो नेपालका विभिन्न क्षेत्रमा परम्परागत रूपमा खेलिँदै आएको मौलिक खेल भए पनि पछिल्लो समय यसको अभ्यास र लोकप्रियता घट्दै गएको अवस्थामा कोहलपुरमा प्रतियोगितको प्रशंसा गरेका थिए ।
आचार्यका अनुसार स्थानीयस्तरमा यस्ता प्रतियोगिताले परम्परागत खेलको संरक्षणसँगै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति र खेलकुद परम्परासँग जोड्न सहयोग पुग्ने विश्वास लिएका थिए ।
वडा अध्यक्ष योगीले कोहलपुरमा पहिलोपटक आयोजना गरिएको छेलो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् । छेलो खेलले नेपालको मौलिक पहिचान र ऐतिहासिक महत्व बोकेको उल्लेख गर्दै उनले बाँकेमा पनि यसको सुरुवात हुनु सकारात्मक भएको बताए ।
प्रतियोगितालाई आगामी वर्षहरूमा थप व्यवस्थित र व्यापक बनाउँदै लैजाने र स्थानीयस्तरमा मौलिक खेलको संरक्षणका लागि गरिएको यो पहलले कोहलपुरमा नयाँ खेल संस्कृतिको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्